२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । बजेट भाषणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारवाट सम्बोधन गर्ने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गर्न लागेको सम्‍बोधनलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । सरकारले भोलि अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्दैछ ।

बजेटमा सरकारको प्राथमिकता, नीति तथा कार्यक्रम लगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले बताए । संसदमा सघन छलफल गरी बजेट ल्याउनुपर्ने समयमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै विघटन गरेपछि २०७२ मा संविधान जारी भएपछि अध्यादेशबाट बजेट आउन लागेको यो पहिलो पटक हो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेकोमा गत ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी गरेको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार १६ खर्ब आसपासमा आउन लागेको बजेटमा अधिकांश कार्यक्रम कोभिड-१९ नियन्त्रण, रोकथाम केन्द्रित हुने बताएको छ ।संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !