१४ बैशाख २०८१, शुक्रबार

मध्यरातमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता


विद्यादेवी भण्डारी, केपी ओली र महन्थ ठाकुर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो हिजो मध्यरातमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

जसपाका अध्यक्ष ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा चिया खान मात्रै गएको दाबी गर्दै राष्ट्रपतिलाई भेटेको स्वीकार गरेका छन् । शुक्रबार बिहान जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरुसँगको कुराकानीमा ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा राजनीतिक विषयमा छलफल नभएको बताएका हुन् ।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै प्रधानमन्त्री औलीले विश्‍वासको मत लिने आफ्‍नो चाहना नरहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकबाट संविधानको ७६ (५) बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएलगत्तै हिजो साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका थिए ।

नयाँ सरकार बनाउन नेकपा एमाले र जसपा सांसदहरूको सहमति रहेको हस्ताक्षर सहितको लिखित पत्र लिएर उनीहरु शीतल निवास पुगेको जसपा स्रोतले बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न भोलि शुक्रबार साँझ ५ बजेसम्मको लागि म्याद तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने र वैकल्पिक नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्दै भोलि ५ बजेसम्म २१ घण्टाको म्याद दिएकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा शुक्रबार साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न राष्ट्रपतिले आह्वान गरेकोले त्यसअघि नै सरकार बनाउने गरी फेरि एमाले र जसपाको दौडधुप देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !