१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले लिए सपथ


प्रधानमन्त्री केपी शर्मा ओलीले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । आज शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

नेपालको संविधान २०७२ को धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । भण्डारीले बिहीबार राती नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले देश र जनताका नाममा सपथ लिएका छन् ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई वैशाख ३० गते बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिइन् ।

उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि ती दल असफल भएका थिए । उक्त अवधि सकिएपछि संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी बिपक्षी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेकी छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधि लगायतको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !