६ बैशाख २०८१, बिहिबार

काँग्रेसको निर्णय : देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने


नेपाली कांग्रेस फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ । काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको हो ।

बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्र काँग्रेसलाई सघाउनेबारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे । यस्तै एमालेकै माधव नेपाल समूहले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दावी गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी छन् ।

प्रतिनिधिसभाको कायम रहेका संसदको अंक गणितलाई हेर्दा नयाँ सरकार बनाउन जसपको ठाकुर-महतो पक्ष पनि सामेल हुन जरुरी छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) सँग १२१ सांसद् छन् ।

दोस्रो ठूलो दल नेपाली कांग्रेससँग ६३ (दुई निलम्बित), नेकपा (माओवादी केन्द्र) सँग ५३ (चार निलम्बित), जनता समाजवादी पार्टी नेपालसँग ३४ (दुई निलम्बित) तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका र स्वतन्त्र १/१ जना सांसद छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !