६ बैशाख २०८१, बिहिबार

देउवाले बोलाएको गठबन्धनको बैठक एकाएक स्थगित, अचानक बोलाए पदाधिकारी बैठक


शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका बारेमा छलफल गर्न दिउँसो २ बजे बोलाएको बैठक एकाएक स्थगित भएको छ । माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहका नेताहरुसँग देउवाको बैठक स्थगित भएको हो ।

कांग्रेसको पौडेल पक्षले पहिले पदाधिकारीको बैठक डाकेर मात्रै अरु दलसँग छलफल गर्नुपर्ने अडान लिएपछि २ बजेका लागि तोकिएको विपक्षी गठबन्धनको बैठक स्थगित भएको हो ।

देउवाको सचिवालयले दिएको जानकारी अनुसार सभापति देउवाले गठबन्धनको बैठक स्थगित गरी पदाधिकारी बैठक बोलाएका छन् । दिउँसो ३ बजे सभापतिको निवासमा पदाधिकारी बैठक बस्ने भएको हो । अन्य दलसँगको छलफलको समय भने टुंगो लागिसकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी छन् ।

विश्वासको मत पाउन नसकी प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । त्यसरी गठन हुने प्रधानमन्त्रीले प्रतिनिधिसभाको कुल सदस्य संख्याको बहुमत प्राप्त गर्नुपर्नेछ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनको आह्वान गर्न आग्रह गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !