५ जेष्ठ २०८१, शनिबार

नेपाल समूहका सांसदहरुको बैठक जारी : राजीनामा बुझाएर सिंहदरवारवाट बाहिरिने


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडौंं । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको बैठक सिंहदरवारमा जारी रहेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ साल जेठ २ गतेमा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन आज बिहान ९ बजेसम्मको लागि दिएको १२ घण्टे अल्टिमेटमभित्र माग पुरा नगरेकोले नेपाल समूहको बैठकले निर्णय गरी राजीनामा बुझाएर बाहिरिने तयारी गरेको हो ।

नेपाल समूहका सांसदरुको बैठकले आज बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । तर ओलीले आफूहरुलाई किनारा लगाउने ढंगले गएमा आज नै कठोर निर्णय गर्दै राजीनामाको दिने तयारी गरेको नेपाल समूहका एक सांसदले बताए ।

हिजो आइतबार मध्यरातमा नेता माधव नेपालले पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका थिए । तर दिएको अल्टिमेटममा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने संकेत गर्दै समुहका सांसदहरुले अव राजीनामाको विकल्प नभएको पनि बताएका छन् ।

नेपाल समूहका एक सांसदका अनुसार ओलीको दम्भका कारण पार्टी एकताका सम्पूर्ण प्रयास असफल भएको बताएका छन् । नेपाल समूहका सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् ।

नेपाल समूहका कतिजना सांसदले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन । तर पार्टी विभाजन नै हुने भएपछि समानुपातिक सांसदले पनि राजीनामा दिने तय भएको बुझिएको छ ।

आफूहरुले राजीनामा दिएपछि संसदको संख्या घटेपछि संसदमा एमाले बाहेक अन्य दलको बहुमत पुग्ने विश्लेषण नेपाल समुहको रहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !