१२ बैशाख २०८१, बुधबार

ओली र नेपाल समूहका नेतावीच म्यारियटमा छलफल, होला कारवाही फिर्ता ?


होटल म्यारियट, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट

काठमाडौँ । काठमाडौँको केन्द्रमा रहेको नक्सालस्थित अहिले चर्चाको शिखरमा रहेको होटल म्यारियटमा नेकपा एमालेका दुई समानान्तर ओली र नेपाल समूहका नेताहरुवीच हिजो छलफल भएको छ । यसले गर्दा विभाजनको सघारमा पुगेको नेकपा एमालेका नेता र कार्यकर्तामा झिनो आशाको दियो बलेको छ ।

ओली र नेपाल समुहका नेताबीच पार्टी विवाद समाधानबारे छलफल भएको हो । आज होटेल म्यारियटमा एमाले नेता समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका हुन् ।

छलफलमा पाण्डे र विष्टले फागुन २८ को निर्णयबाट प्रधानमन्त्री ओली पछि हट्नुपर्ने अडान राखेका थिए तर कुनै त्यस्तो उपलव्धिमूलक सहमति हुन सकेन । यद्यपि यी ३ जना एमालेका नेतारुवीच पार्टी एकताको लागि मिलनबिन्दु खोज्नुपर्नेमा सहमति भने जुटेको छ ।

बुधबार मात्र एमालेका महासचीव समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल समूहका नेताहरु योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका थिए । भेटमा भट्टराई र पहाडीले व्यक्तिगत रूपमा भन्दा पनि सामुहिक रुपमा पार्टी एकता खोज्न सुझाव दिएका थिए ।

खनाल-नेपाल समूहले आफ्ना प्रत्यक्ष निर्वाचित सांसदलाई सामुहिक राजीनामा गराएर भएपनि ओलीलाई सरकारवाट हटाउने चेतावनी दिनुको साथै माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओलोको मनोवल कमजोर भएर उनले खनाल-नेपाल समूहका केहि यूवा जुझारु नेताहरुसँग छलफल र भेटघाटलाई तिब्रता दिन आफ्ना समूहका नेताहरुलाई सक्रिय बनाएका छन् ।

यसअघि सोही होटेलमै वैशाख ७ र ९ गते नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएर दुवै भेटमा मन माझामाझ भएपनि आफ्नो व्यक्तिगत अडानले गर्दा ओली-नेपालले सहमतिको विन्दु पुग्न सकेका थिएनन् । ती वार्तामा नेपालले ओलीलाई २०७५ जेठ २ मा फर्किन आग्रह गरेका थिए भने ओलीले नेपाललाई बिनाशर्त पार्टीमा फर्किन आग्रह गरेका थिए ।

हिजो बिहीबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बहुप्रतिक्षित मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएतापनि किन कुनै निर्णय गर्न सकेन भन्ने जिज्ञाषा बढेको छ । सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार आजको बैठक नियमित बैठक भएकोले त्यस्तो कुनै निर्णय नगरेको बताएतापनि यसभित्र लुकेको अन्तर्य अर्कै हुनसक्ने विश्लेषण गर्न सकिन्छ ।

स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली कारवाही फिर्ता गर्न लचक भएपनि फागुन २८ का सबै निर्णयबाट पछि हट्न भने चाहेका छैनन् । नेपाल समूह फागुन २३ पछि ओलीले एकपक्षीय गरेका सबै निर्णय रद्द गर्नुपर्ने पक्षमा छ ।

ओलीले आफ्नो समूहका नेताहरुलाई राखेर २८ फागुनमा विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्यहरु थप गर्ने लगायतका निर्णय गरेलगत्तै नेपाल समूहले चैत ४-५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर देशव्यापी समानान्तर संगठन विस्तार गर्दै आइरहेको छ ।

नेकपा एमालेमा अध्यक्ष समेत रहेका केपी शर्मा ओली समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधव नेपालसहित ४ जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बिहीबार विहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको थियो ।

यद्यपि कारवाही फिर्ताको निर्णय भने भइ सकेको छैन । एमाले अध्यक्ष ओली समूहले ४ नेताहरुलाई गत चैतमा कारवाही गर्दै ६ महिना पार्टीबाट निलम्बन गरेका थिए । एमालेमा देखिएको विवाद मिलाउन र पार्टी एकता जोगाउन ओली र नेपाल समूहका नेताबीच हिजो बिहीबार छलफल हुनु सकारात्मक हो ।

एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्‍न गएका ओलीले शीतलनिवासवाटै मन्त्रिपरिषद्‌ बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको थियो । हिजो बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले थप अध्यादेश ल्याएर राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष जारी गर्न सिफारिस गर्ने प्रवल सम्भावना रहेको खनाल-नेपाल समूहको एमाले उच्च स्रोतले संकेत गरेको थियो ।

सोका लागि उनले हिजो बिहीबार राष्ट्रपति भण्डारीसँग छलफल गरिसकेका थिए । तर एकाएक ओली किन आफ्नो त्यो निर्धारित योजना ब्याक भए भन्ने चासो बढ्नु स्वाभाविक हो । बालुवाटार स्रोतका अनुसार राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनेबारे राष्ट्रपतिसँग समेत प्रधानमन्त्री ओलीले छलफल गरेको बुझिएको थियो ।

यता पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल हिजो कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । हिजो साँझ देउवा निवास बुढानिलकण्ठमा करीव १ घण्टा छलफल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका थिए ।

नेपाल समूहले आफ्ना सांसदको सामुहिक राजीनामा दिने तयारी गरिरहेको बेला नेपाल राष्ट्रपति भेट्न शितल निवास पुग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । एमाले मिलाउनका लागि ओलीलाई दबाब सिर्जना गर्न नेपाल राष्ट्रपति भवन गएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

देउवालाई भेटेर फर्किएपछि नेपालले जे जति अपेक्षा राखेर देउवालाई भेट्न बुढानिलकण्ठ गएपनि त्यो अनुसारको देउवावाट सुनिश्चितता नभएपछि नेपालको मनोवल केहि गिरेको अनुमान गर्न सकिन्छ । एमालेको ओली समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधव नेपालसहित ४ जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल गरेपछि ओलीप्रति नेपाल केहि लचिलो भएको हुनसक्ने विश्लेषण गर्न सकिन्छ ।

आफूविरुद्ध आफ्नै पार्टीको अर्को खनाल-नेपाल समूह आफूलाई एक्ल्याउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति देउवासँग गुटबन्दी गरेर आफुलाई चौतर्फी घेराबन्दीमा परेपछि राजनीतिक दल विभाजन सम्वन्धी विधेयक राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्वाट सिफारिश गर्नेसम्मको तयारीमा प्रधानमन्त्री ओली भएको खनाल-नेपाल समूहका एक नेताले बताएका थिए ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीलाई उनकै पार्टीको अर्को समानान्तर समूह खनाल-नेपाल समूहले धोका दिन ठूलो षडयन्त्र गरिरहेको थियो । खनाल-नेपाल समूह ‘आफ्नै खुट्टामा बन्चरो’ हानेर विपक्षी दल काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने घिनलाग्दो खेलमा लागेको छ भने पार्टी अध्यक्ष ओलीले पनि पार्टीको आन्तरिक विवाद आपसी समझदारीवाट नमिलाएर उनी पनि देउवाको शरणमा पुग्न बाध्य भएका छन् ।

आफ्नो व्यक्तिगत स्वार्थपूर्ति र सत्तामोहले दुई तिहाईको सरकार नेपालका कम्युनिष्ट पार्टीहरुलाई ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको छ । उनीहरुले नागरिकले दिएको यत्रो ठूलो अभिमतको उपेक्षा गरेकोले भविष्यमा उनीहरु त राजनीतिक रुपमा नांगिने नै छन् तर आम नेपाली नागरिकको दुखको दिन कहिले नै अन्त्य नहुने देखिएकोले नेपालको राजनीति ठुलो अध्यारो सुरुङतर्फ धकेलिने संकेत देखिएको छ ।

जे भएपनि ‘भाई फुटे, गवार लुटे’ भन्ने नेपाली उखान अनुसार नेकपाको विभाजनले प्रमुख कम्जोर तथा भूमिकाविहीन प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आगामी निर्वाचन फाइदा पुग्ने सहजै अनुमान गर्न सकिन्छ भने नेकपाको दुवै समूहको हालत कम्जोर हुने प्रष्ट देखिन्छ । तर दुई तिहाई बहुमतको शक्तिशाली सरकार बन्ने सम्भावना नरहेकोले भविष्यमा मिलिजुली सरकार बनाउने र गिराउने खेल हुने देखिएकोले नेपालमा राजनीतिक अस्थिरता हुने देखिनु आम नेपाली नागरिकको लागि बिडम्वना कुरा हुनेछ ।

पार्टीभित्र देखिएका अन्तर्विरोधलाई मिलाएर पार्टीका नेता, कार्यकर्ताका साथै आम नेपाली जनतालाइ केन्द्रमा राखेर कसम खाएर मिल्नुपने स्थितिमा पार्टी नै विभाजन गरेर जानु भनेको लज्जास्पद कुरा हो । नेकपाका नेता-कार्यकर्तादेखि आम सवै नेपाली जनताहरु यी ओली र नेपालले देखाएको हर्कतले वाक्क-दिक्क भई सकेका छन् ।

माधव नेपालले आफ्नो राजनीतिक भविष्यको सुनिश्चतता खोजेकोले महाधिवेशनमा नेपाललाई अध्यक्षको आश्वाशनको जेन्टलमेन एग्रीमेन्ट गरिदिएर पार्टीलाइ एक बनाउन प्रधानमन्त्री ओली किन तयार नभएको ? २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किएर एकताको गर्न किन ओलीले भूमिका नखेलेको हो ? यस्तै संसदको ठुलो दल एमालेका नेताहरुलाई जनताले दिएको अभिमत बाँदरको हाँतमा नरिवल भएजस्तो भएको छ ।

विश्वमा अस्ताउदो अवस्थामा रहेको कम्युनिष्ट शक्तिको बर्चस्वलाई नेपाली जनताले ठूलो आशा र भरोशा गरेर फेरि उदाउँदो अवस्थामा ल्याइदिएका थिए । ‘विनाश काले विपरीत बुद्धि’ भनेझै अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेका छन् । व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर यिनीहरुले एमालेको विनाशको बाटोतिर लागिरहेका छन् ।

यसरी नेपाल एमाले मिलाउनका लागि ओलीलाई दबाब सिर्जना गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास छिरेपछि नेपालवाट केहि ग्रिन सिग्नलको संकेत पाएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकवाट त्यस्तो अप्रिय हुने निर्णय नगरेको हुनसक्ने विश्लेषण गर्न सकिन्छ ।

नेकपाका यी दुवै समूहले आफ्नै घरमा आगो लगाएर के अभिष्ट प्राप्त गर्न खोजिरहेको छ ? यो प्रश्न आम एमालेका कार्यकर्ताको मनमा उब्जिरहेको छ । नेकपाका यी दुवै समूहको स्थिति भोलि सिपि मैनाली र मोहन बैद्य जस्तो किनारा लागेर जाने त होइन भन्ने विश्लेषण गर्न सकिन्छ । राम राम भन्न मात्र सकिन्छ काँध थाम्न सकिदैन । एमालेका सवै यी शीर्ष नेताहरुको बेलैमा सद्बुद्धि आओस् भन्ने कामना मात्र गरौ ।

व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर विनाश काले विपरीत बुद्धि’ भनेझै अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेर पार्टी विनाशको बाटोतिर लागिरहेको बेला कुनै चमत्कारिक शक्तिले गर्दा फेरि सद्बुद्धि आएको त होइन भन्ने जस्ता विश्लेषण हुन थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !