११ बैशाख २०८१, मंगलबार

वैशाख २७ अघि नै एमाले विभाजन : नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने


केपी ओली, झलनाथ खनाल र माधव नेपाल

काठमाडौं । नेपालको राजनीति फेरि ठुलो अध्यारो सुरुङतर्फ धकेलिने संकेत देखिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टीको अर्को समानान्तर समूह झलनाथ खनाल- माधव नेपाल समूहले ठूलो षडयन्त्र गरेको पर्दाफास भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍को विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनका लागि’ सो दिन अपराह्न १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेको उक्त खनाल-नेपाल समूहले वैशाख २७ अघि नै आफ्ना समूहका सांसदले सामूहिक राजीनामा दिएर आफ्नै पार्टीका प्रधानमन्त्री ओलीलाई धोका दिएर कांग्रेस-माओवादी गठबन्धनलाई बहुमत पुर्‍याउने खेलमा सहज बनाउन भर्यांङ हाल्दिन लागेको हो ।

खनाल-नेपाल समूहले ओलीलाई सत्ताच्यूत गर्न र उनकै नेतृत्वमा चुनावमा जान नदिन विपक्षी गठबन्धनलाई बहुमतमा पुर्‍याइदिने खेलमा सहजकर्ताको भूमिका निर्वाह गर्न लागेको सूचना प्राप्त भएको छ ।

खनाल-नेपाल समूहका कम्तीमा २० जना सांसदले सामूहिक राजीनामा दिनेबारे हिजो सोमबारदेखि सघन छलफल शुरू भएको एमालेका नेताले नाम नबताउने सर्तमा नेपालपत्रलाई जानकारी दिए ।

आफूहरूले विश्वासको मत दिए ओली सरकार जोगिने र नदिए पनि जसपाको एउटा पक्षको साथ पाएर ओलीले नै चुनाव गराउने परिस्थिति देखिएपछि खनाल-नेपाल समूह गहन छलफलमा लागेको हो । यस्तो अवस्थामा वैशाख २७ अघि नै एमाले विभाजन भईसक्ने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !