१३ बैशाख २०८१, बिहिबार

अन्तत: लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले लिए सपथ


शंकर पोखरेलले लिए सपथ

बुटवल । अन्तत: बिभिन्न उतारचढावका बाबजुद पुन: नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिएका छन् । आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन: मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको कार्यालय नै पुगेर पुन: नियुक्त भएका मुख्यमन्त्री पोखरेललाई आज राति ८ बजे पद तथा गोपनीयताको सपथ सपथग्रहण गराएका हुन् । यस अघि आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए ।

यो भन्दा पहिला पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ (२) बमोजिम बनेको थियो । धारा १६८(१) मा अन्तत: संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर पोखरेलले आज बिहान राजीनामा दिएका थिए ।

राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यद्यपि लुम्बिनी प्रदेश एमालेकी सांसद बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै पोखरेलसँग बहुमत नभएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मुख्यमन्त्री नियुक्त नगर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय अघि धर्ना दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !