५ जेष्ठ २०८१, शनिबार

ओलीले बोलाए एमालेको आकस्मिक बैठक, नेपाल समूहका सांसदलाई गर्लान त निलम्वन ?


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । आज बैठक विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको २ दिनपछि नै फेरि सोही समितिको बैठक आह्वान गर्नुलाई राजनीतिक वृत्तमा एकदम चासोका साथ हेरिएको छ । यसरी ओलीले आकस्मिक बैठक डाक्नुले नेपाल समूहका सांसदलाई गर्लान त निलम्वन ? भन्ने जस्ता जिज्ञाषा बढेको छ ।

तर नेकपाका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बैशाख ६ र १० गतेकै निरन्तरता भएकोले समसामयिक राजनीतिक विषयमा छलफल हुने र खनाल-नेपाल पक्षका सांसदहरुलाई सोधिएको स्पष्टीकरणबारे निर्णय हुनसक्ने बताए ।

यसअघि शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठक बालाएर वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहलाई बाहिर राखेर १९ सदस्यीय स्थायी समिति बनाएका थिए भने आफ्नो समूहका नेताहरूलाई जिम्मेवारी तोकेर खनाल-नेपाल समूहका ९८ नेतालाई जिम्मेवारीविहिन बनाएका थिए ।

आजको बैठकबाट स्पष्टीकरण सोधिएका नेपाल समूहका २७ सांसदको विषयमा निर्णय गर्ने सम्भावना रहेको स्रोतले बतायो । स्पष्टीकरण सोधिएकामध्ये अधिकांशले जवाफ बुझाएका छन् भने नबुझाएकालाई के गर्ने भन्‍ने विषयमा छलफल हुने एक नेताले बताए ।

६ गतेको बैठकले संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना माधव नेपाल पक्षीय नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अघिल्लो पटकको बैठकले कर्णाली प्रदेशका ४ प्रदेशसभा सदस्यहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

स्पष्टीकरण सोधिएका अन्य सांसदहरुमाथिको कारबाहीबारे आजको बैठकमा छलफल हुने आंकलन एमाले नेताहरुले गरेका छन् । कर्णालीका ४ सांसदहरुलाई पदबाट हटाइए तापनि बाँकी २४ जनाको बारेमा निर्णय हुन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !