११ आश्विन २०८१, शुक्रबार

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने, ‘सभामुखले अराजक र अनैतिक ढंगले असहयोग गरे’


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाएको बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए ।

प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको भूमिका अराजक र अनैतिक खाले भएको भन्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने गर्ने दलहरुको साथ खोजेका छन् । बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे ।

राप्रपा अध्यक्ष लोहनीले प्रधानमन्त्री ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए । सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको बताएका छन् ।

‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो’, डा. लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने,‘ यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो । ’

लोहनीले भने- प्रधानमन्त्रीज्यूले सभामुखले असहयोग गरे, संसदले काम गर्न दिएन र सभामुख अराजक र अनैतिक काम गरिरहेका छन् भन्नुभयो । हामीले मिलाएर लैजानुस भनेका छौं ।’

बैठकमा आफूले राजनीतिक विकास खोजेर कोरोना नियन्त्रण लगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएको डा लोहनीले बताए । बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेका थिए ।

यसरी प्रधानमन्त्री ओली र सभामुख सापकोटावीचको शीतयुद्ध फेरि बल्झिएको छ । कार्यपालिका र व्यवस्थापिकावीच हुनुपर्ने नङ र मासुको जस्तो सम्वन्ध भने व्यक्तिगत र दलीय प्रभावले गर्दा आन्तरिक किचलोमा देशको राजनीति रुमलिएको छ ।

सभामुख हुनुअघि सापकोटा प्रचण्डनिकट हुन तर अहिले पनि प्रचण्डको कुरा सुनेर त्यहि अनुसार काम गर्नु बिडम्वनाको कुरा हो । सभामुख जस्तो सम्माननीय पदमा आसिन व्यक्तित्वले तटस्थ भूमिका निर्बाह गर्नु जरुरी छ भने प्रधानमन्त्रीले पनि सभामुखलाई दवाव सिर्जना गरेर जेसुकै आरोप लगाउनुले जनतामा गलत शन्देश जाने निश्चित छ ।

यो पनि पढ्नुहोस्

सर्वदलीय बैठकमा सभामुखमाथि खनिए प्रधानमन्त्री : संसदलाई बन्धक बनाएको लगाए आरोप

बालुवाटारमा सर्वदलीय बैठक : देउवा-ठाकुर गए, प्रचण्ड-नेपाल र बाबुराम-उपेन्द्र गएनन्

ओलीले बोलाएको बैठक बहिस्कार गरी प्रचण्डले नेपालसँग कोटेश्वरमा के गरे छलफल ?

ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड र माधव नेपाल सहभागी नहुने

आज प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !