१३ बैशाख २०८१, बिहिबार

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्डले किन हलो अड्काइरहेका छन् ?

देउवालाई प्रधानमन्त्री बन्न हलो अड्काए प्रचण्डले


प्रचण्ड र देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ बन्ने भावी सत्ता समीकरणमा आफूलाई प्रधानमन्त्री हुनवाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवरोध गरी हलो अड्काएर राखेको बताएका छन् ।

झापामा हिजो यसो भने देउवाले

हिजो बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा निर्मित शहिद याम बहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा बोल्दै देउवाले नयाँ सरकार बनाउन संख्या सुनिश्चित भइ नसकेको बताएका थिए । तर संख्या निश्चित भए आफू प्रधानमन्त्री बन्नबाट नभाग्ने उनले बताएका थिए ।

‘…चाहेर मात्रै प्रधानमन्त्री हुइँदैन नि, त्यसका लागि संख्या चाहिन्छ’ बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा निर्मित सहिद याम बहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा देउवाले भने, ‘संख्या निश्चित हुनुपर्यो, संख्या ।’ उनले अघि भने, ‘संख्या निश्चित भएको खण्डमा पुनः धोका नहुने किसिमको हुनुपर्यो । हामी भाग्ने कुरा छैन ।’

‘प्रधानमन्त्री बन्नु पर्यो सबैले भनेका छन् । भाग्न पनि खोज्या छैन म,’ उनले भने, ‘तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन् । शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्यो भन्छन् । सर्मथन फिर्ता लिएकै छैन । अब हेर्नुस् त ! के पत्याउने ? समर्थन पहिले फिर्ता लिनु पर्यो नि ।’

नेपाली कांग्रेसको केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ । तर देउवाले अग्रसरता नलिएको नेताहरुले बताइरहँदा देउवाले भने माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए ।

प्रचण्डको रणनीति

अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस सभापति देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने कार्ड फालेर अन्ततः प्रचण्ड आफैं बहुमतीय प्रधानमन्त्री बन्ने रणनीतिमा भएको देखिन्छ ।

तर प्रचण्डले स्वयम् आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । यदि नेपाली काँग्रेस र अन्य मधेशवादी दलहरुको साथ मिलेमा अनि आफूलाई प्रधानमन्त्री बन्न सवैले अनुरोध गरेमा प्रधानमन्त्री बन्ने भित्री आकांक्षा उनमा रहेको छ किनकी खुल्ला रुपमा आफू प्रधानमन्त्री बन्ने भनेमा जनतामा नकारात्मक सन्देश जाने हेक्का उनमा छ ।

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिँदा ओलीले फेरि प्रतिनिधिसभा विघटन गरेर मध्यावादी निर्वाचनको लागि राष्ट्रपति समक्ष सिफारिश गर्न सम्भावना प्रवल देखेर प्रचण्ड तत्काल समर्थन फिर्ता गर्ने मनस्थितिमा नभएको बुझिएको छ । मध्यावादी निर्वाचन भएमा आफ्नो पार्टीको अवस्था नाजुक हुने आंकलन प्रचण्डले गरेका छन् ।

यद्यपि माओवादी केन्द्रका नेताहरुले केहि दिनभित्र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अनौपचारिक धारणा राख्दै नआएका पनि होइनन् । तर चौतर्फी आलोचना भएपछि ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने नैतिक दवाव प्रचण्डलाई रहेको छ ।

प्रचण्डप्रति देउवाको आक्रोश

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउने भनेर आश्वाशन दिने तर ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि अल्मल्याइरहेको ठम्म्याई देउवाले भर्खर गरेका हुन् ।

आफ्ना २ दर्जन जति नेताहरु ओलीले नेकपा एमालेमा लागेपछि प्रेसर बढेका प्रचण्डलाई कर्णालीमा आफ्नो पार्टीको मुख्यमन्त्री भएको सरकार ढल्ने भएपछि प्रचण्ड माइन्ड फ्रेस गर्न जनार्दन शर्मासँग रुकुममा भएको समयमा देउवा हिजो प्रचण्डसँग रिसले आगो भएका हुन् ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर संसद पुन:स्थापना गरेपछि दुवै हातमा लड्डु भएका देउवाको मनस्थिति परिवर्तन भई रहने भएपनि फेरि कुनै ज्योतिषीले तपाईको ग्रह-दशा बलियो छ, प्रधानमन्त्री बन्ने योग आएको छ । अवसर नगुमाउनु होला; मौका आउछ पर्खिदैन, बगेको खोला फैकिदैन भनिदिएर हो कि उनी प्रधानमन्त्री हुन खुलेर लागेका छन् ।

तर उनको यो प्रधानमन्त्री बन्ने तीब्र चाहनामा बाधक भएर बसेका छन् – माओवादी अध्यक्ष प्रचण्ड । हुनपनि यसरी तड्पाउनु त भएन नी प्रचण्डले देउवालाई । ‘जैसी बाहुनको कोखमा सिङ हुन्छ’ भनेझैँ ‘मुखमा राम राम, बगलीमा छुरा’ त राख्नु भएन नी प्रचण्डले ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने औपचारिक निर्णय गरिसकेको छ । देउवालाई प्रधानमन्त्री बनाउन काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला उक्स्याइरहेका छन् ।

हुनपनि देउवालाई प्रधानमन्त्री बनाएर सत्ता मोह भएको राजनीतिज्ञको रुपमा स्थापित गरेर नकारात्मक सन्देश जनता र कार्यकर्तामा पुर्याई देउवाको राजनीतिक जीवन धरापमा पार्ने षडयन्त्रमा पौडेल र कोइराला रहेका छन् । यसो गरेमा आगामी काँग्रेसको महाधिवेशनमा देउवालाई पराजित गर्ने रणनीति पौडेल र कोइरालाको छ ।

आफ्नो पार्टीभित्रको यस्तो दवाव भएका देउवालाई माया गरेजस्तो गरेर बेवास्ता गरी मनोवैज्ञानिक तनाव प्रचण्डले दिएपछि देउवा आक्रोशित भएका हुन् । देउवा प्रचण्डप्रति आक्रोशित भएर हिजो अभिव्यक्ति दिएपछि त्यसको बारेमा प्रचण्डको औपचारिक धारणा बाहिर आईसकेको छैन ।

प्रचण्डले यसरी आफूलाई प्रधानमन्त्री बन्नुहोस् हामी समर्थन गर्छौ पनि भन्ने तर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता नगर्ने दोहोरो चरित्र देखाई आफूलाई तड्प्याएकोले भित्री मनमा गुम्सिएर रहेका दवित् भावनाहरु काठमाडौँ उपत्यका बाहिर झापा पुगेर रुवाबासी गर्दै देउवाले ओकलेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !