७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने


माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको हो ।

आज बस्ने बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने औपचारिक निर्णय हुने र नयाँ सरकार गठनबारे छलफल हुने बताइएको छ । गत बुधबार प्रतिनिधिसभा बैठकमा सांसद देव गुरुङले ओलीले विश्वासको मत लिनुपर्ने समेत बताइसकेपछि त माओवादी केन्द्रलाई समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको देखिन्छ ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिएपनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ । काँग्रेस-जसपा लगायतका दलसँगको छलफलपछि प्रचण्ड ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने समर्थन फिर्ता लिए राजीनामा दिने बताइसकेका छन् । माओवादीले समर्थन फिर्ता लिएको खण्डमा वर्तमान सरकार अल्पमतमा पर्ने र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !