२३ बैशाख २०८१, आइतबार

रामचन्द्र पौडेल भन्छन्, ‘प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउँछौं’


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए काँग्रेसले संसदमा अविश्वासको प्रस्ताव ल्याउने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताएका हुन् ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए काँग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए । उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी जुटाउछौं ।’

सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलबीचमा वार्ता गरी सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाइ छ ।

‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमन विरुद्धमा संघर्ष गरेका र पुनःस्थापनाका लागि आवाज उठाएका तीनवटा दलको बीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ’ उनले भने ।

उनले अव बन्ने सरकारको नेतृत्व काँग्रेसले गर्ने पनि बताउनुको साथै यस विषयमा अन्य दलहरूसँग छलफल गर्न काँग्रेस तयार रहेको पनि स्पष्ट पारे । उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका माग पुरा गर्न नेपाली काँग्रेस प्रयत्नरत रहेको पनि प्रष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !