१२ मंसिर २०८१, बुधबार

के सुरक्षा खतराका कारण प्रधानमन्त्री ओली संसदमा अनुपस्थित भएका हुन् त ?


प्रधानमन्त्री ओली संसद भवन फाइल फोटो

पृष्ठभूमि :  प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार बसेको पुन:स्थापित प्रतिनिधिसभाको छैटौ बैठकमा अनुपस्थिति हुनुलाई शंकास्पद रुपमा लिइएको छ । आज बसेको बैठकमा नेपाली काँग्रेसका नेताहरुले विभिन्न खालका प्रश्न उठाएका छन् । प्रधानमन्त्रीले केही समयअघि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने बताएका थिए ।

अब प्रश्न उठ्छ यतिका सुरक्षा घेरा लिएर हिँडेका प्रधानमन्त्रीलाई आखिर केको सुरक्षा थ्रेट ? ज्यानै तलमाथि हुने गरी कसले हमला गर्ला ? अनि कस्तो किसिमको हमला भन्न खोजेको हो ? कार्यक्रममा सहभागी हुँदा भिडमा रहेका विरोधीले नै जुत्ता वा अन्य प्रहार गर्छन् भन्न खोजिएको हो ? वा कुनै सांघतिक हमला नै हो ? सयौ सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ छ भन्नु प्रोपोगाण्डा कि वास्तविकता ?

प्रधानमन्त्रीले औपचारिक रुपमा नै सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिइसकेपछि सुरक्षा निकाय के हेरेर बसेको छ त ? के प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट भएको हो त ? प्रधानमन्त्री ओलीलाई कस्तो सुरक्षा थ्रेट हुनसक्छ ? आउनुहोस् यस वारेमा सविस्तार चर्चा गरौ ।

आज दिलेन्द्रप्रसाद बडुले यसो भने

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीलाई कोबाट के कारण सुरक्षा खतरा रहेको छ ? भन्दै प्रश्न गरेका छन् । आज बुधबार पुन:स्थापित प्रतिनिधिसभाको छैटौ बैठकको शून्य समयमा बोल्दै सांसद बडुले प्रधानमन्त्रीलाई सुरक्षा खतरा रहेकोबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग गरेका हुन् ।

बैठकमा बोल्दै सांसद बडुले प्रधानमन्त्री ओली सुरक्षा खतरा भएर संसदमा नआएको हो भनी प्रश्न गरेका छन् । प्रधानमन्त्रीले आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि समयमा भौतिक आक्रमण हुने भनेकाले त्यसको जानकारी सरकारले आम जनतालाई दिनुपर्ने उनको भनाइ रहेको छ ।

शुन्य समयमा बोल्दै सांसद बडुले भने, ‘प्रधानमन्त्रीलाई सुरक्षा खतरा भन्नेमा यर्थाथता कति छ ? गृह मन्त्रालयले उहाँको सुरक्षाका लागि के–के गरिरहेको छ ? संसद चलिरहँदा आजसम्म प्रधानमन्त्री नदेखिनुको कारण सुरक्षा खतरा हो कि नैतिक खतरा महसुस गर्नु भएको हो ?’

प्रधानमन्त्रीमाथि के कारण सुरक्षा खतरा रहेको भन्ने सरकारले प्रष्ट नपार्दा आफ्नै देशको सुरक्षामाथि यस्तो प्रश्न उठ्ने गैरजिम्मेवार र बनावटी किन गर्नुभयो ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।

पोखरामा आफ्नो सुरक्षा खतरावारे ओलीले यसो भनेका थिए

२०७७ साल फागुन १७ गते सोमबार प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने सुरक्षा खतरा (थ्रेट) रहेको संकेत गरेका थिए । ओलीले आफू मारिन सक्ने खतरा रहेको खुलासा गरेका थिए ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सो दिन पोखरामा सम्बोधन गर्दै ओलीले विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले आफूमाथि तीव्र गतिमा प्रहार भएको जिकिर गरेका थिए । ओलीले पार्टी तथा देशलाई गतिशील र प्रभावकारी रुपमा चलाएकाले आफूमाथि प्रहार भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो ज्यान गएपनि आन्दोलन नमर्ने समेत बताएका थिए । उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरेका थिए । तर आफूलाई कहाँवाट त्यस्तो सुरक्षा खतरा भएको भनेर उनले खुलाएका थिएनन् ।

‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइरहेको हुनाले, सरकार ठिक ढङ्गले चलाइरहेको हुनाले, सरकार गतिशील र प्रभावकारी रुपमा चलिरहेको हुनाले, विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले म माथि प्रहार गरियो । सम्पूर्ण रुपमा म माथि अत्यन्तै तीव्र गतिले प्रहार गरियो,’ ओलीले भनेका थिए ।

उनले आफूमाथि कुनै प्रकारको शारीरिक हमला नै भएपनि अनौठो नमान्न समेत बताएका थिए । ‘यदि म माथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यानमाथि तलमाथि भइहाल्यो भनेपनि तपाईंहरु अनौठो नमान्नुहोला । तर, त्यस्तो हुन दिइने छैन, हामी सतर्कता अपनाउछौं,’ उनले भने,‘म रहिन्न भनेपनि केही छैन । आन्दोलन छ, पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादी तत्व र तिनका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन । देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन । पार्टीको भविष्य अन्धकार हुन दिनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले आफू नरहे पनि पार्टीको भविष्य अन्धकारमा जान नदिन नेता कार्यकर्तालाई आग्रह गरेका थिए । उनले प्रचण्ड-नेपाल समूहतिर लक्षित गर्दै आफूहरु अहिले अपराधिक तत्वसँग लडिरहेको समेत बताएका थिए । पार्टी र आन्दोलन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै प्रधानमन्त्री ओलीले आफुले छाडे मुलुक खाडलमा जाने दाबी पनि गरेका थिए ।

बिगतमा प्रधानमन्त्रीको सुरक्षा खतराबारे भीम रावलले गरेको खुलासा

२०७७ साल फागुन १८ गते मंगलबार तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका नेता तथा हालको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा भन्नुका सम्भावित कारणहरुवारे खुलासा गरेका थिए ।

सामाजिक संजाल ट्वीटरमा पोष्ट गर्दै उनले सर्वोच्च अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्ने, प्रधानमन्त्री नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने, अरू कसैमाथि हमला गराउन वातावरण बनाउने ओलीको रणनीति भएको उनले बताएका थिए । तर यसले प्रधानमन्त्रीको अयोग्यता र गैरजिम्मेवारपन नै देखाउँने उनले टिप्पणी गरेका थिए ।

कस्तो छ प्रधानमन्त्रीको सुरक्षा व्यवस्था ?

अहिले प्रधानमन्त्री ओलीलाई चारवटा सुरक्षा निकायको घेराबाट सुरक्षा रहेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट ओलीलाई सुरक्षा घेरा रहेको छ । ओलीको सुरक्षामा सेनाका अधिकृत २४ घण्टा खटिएका हुन्छन् ।

प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा दुई जना प्रहरी निरीक्षक, अन्य जुनियर अधिकृतसहित करिब १ सय जनाभन्दा बढी संख्यामा प्रहरीको टोली खटिएको हुन्छ ।

यस्तै नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा १ सय भन्दा बढी संख्यामा सैनिक अधिकृत, जुनियर अधिकृत तथा जवानहरु प्रधानमन्त्रीको सुरक्षामा तैनाथ हुन्छन् । अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले प्रधानमन्त्रीको सुरक्षा सम्बन्धी नेतृत्व गर्दछ । प्रधानमन्त्रीको सुरक्षामा ‘क्लोज रिङ’ भित्र सेनाकै टोली खटिएको हुन्छ । प्रधानमन्त्रीको सुरक्षामा तैनाथ सैनिकसँग अत्याधुनिक हतियार समेत हुने भएकाले सुरक्षा दायरा एकदम बलियो हुन्छ ।

यस्तै प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी बलको टोली पनि परिचालित हुन्छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ देखि ४० जनाको टोली प्रधानमन्त्रीको सुरक्षामा खटिएका छन् । साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि प्रहरीको सुरक्षाका निम्ति परिचालित हुन्छन् । समग्रमा प्रधानमन्त्रीको सुरक्षामा करिब ३ सय सुरक्षाकर्मी खटिएका हुन्छन् ।

प्रधानमन्त्रीको सवारीको अग्रभागमा प्रहरीको मोटरसाइकलले स्कर्टिङ गर्दछ । त्यसपछि नेपाली सेनाको गाडी हुन्छ । सेनाको गाडी पछाडी प्रहरीको गाडी हुन्छ । त्यसपछि मात्र प्रधानमन्त्रीको गाडी हुन्छ । प्रधानमन्त्रीको गाडीभन्दा पछाडि प्रहरीको गाडी हुन्छ । पुछारमा सशस्त्र प्रहरीको एउटा गाडी हुन्छ ।

प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सम्बोधन गरिरहँदा उनको पछाडि उभिएका सुरक्षाकर्मीले ब्रीफकेस बोकेर उभिरहेका हुन्छन् । ओलीको दायाँबायाँ र पछाडि तीन सुरक्षाकर्मीले हातमा ब्रीफकेस झुन्डाएर उभिएर बसेको देख्न सकिन्छ । प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेनाका तालिम प्राप्त सुरक्षाकर्मीहरूले तीनवटा ब्रीफकेस बोकेर उभिरहेका हुन्छन् ।

सुरक्षा मामिलाका जानकारहरूका अनुसार अलि मोटो देखिने ब्रीफकेसमा सबमशीनगन हुन्छ भने अलि पातला दुईवटा ब्रीफकेसमा प्रोटेक्टिभ शील्ड भनिने सुरक्षाकवच हुन्छ । मोटो ब्रीफकेसमा भित्र राखिएको अत्याधुनिक हतियारबाट गोली निस्किने प्वाल पनि देखिन्छ । पातलो ब्रीफकेसमा भने दुईदेखि तीन पत्रसम्म पट्याएर गोली छेक्ने पाताहरू राखिएका हुन्छन् ।

विशिष्ट व्यक्तिहरूमाथि कुनै आक्रमण भएको अवस्थामा अङ्गरक्षकहरूले यस्तो ब्रीफकेसलाई तुरुन्तै सुरक्षा ढालको रूपमा प्रयोग गर्न सक्छन् । एक सुरक्षा अधिकारीका अनुसार जोडले झड्कार्ने वा तान्नेबित्तिकै सुटकेसभित्र पट्टिएर बसेका पाताबाट गोली र अन्य प्रहार रोक्न सकिने बताए ।

निष्कर्ष

प्रधानमन्त्री ओलीको सुरक्षा थ्रेटको खतराको बारेमा पटक-पटक प्रश्न उठ्नु बिडम्वनाको कुरा हो । प्रधानमन्त्री ओली स्वयंले आफैंमाथि सुरक्षा थ्रेट छ, खतरा छ भनेर विचारात्मक अभिव्यक्ति दिनुले झन् असुरक्षाको सन्देश जानुका साथै यसले सिङ्गो राज्यलाई नै कमजोर पारी नागारिकमा त्रास उत्पन्न भएको छ । तर प्रधानमन्त्री ओली राजनीतिक रुपमा कम्जोर भएर रक्षात्मक हुँदै गएपछि सहानुभूतिका लागि पनि यस प्रकारको विषय उठाएको हुन सक्ने एक तरिकावाट विश्लेषण गर्न सकिन्छ ।

हालको समयमा प्रधानमन्त्री ओलीलाई भौतिक चुनौतीको सम्भावना नरहेतापनि प्रतिनिधिसभा विघटनको प्रयास असफल भएपछि प्रचण्ड-नेपाल समूह वा अन्य पार्टीका कार्यकर्ताबाट कालो झण्डा देखाउने, चप्पल हान्ने जस्ता सामान्य खाले चुनौती रहेकोले उनले यसलाई बढाई-चढाई गरेको हुनसक्ने अर्को तरिकावाट विश्लेषण गर्न सकिन्छ ।

यहि देश हो जहाँ कोत पर्व र भण्डारखाल पर्व गराएर कैयौको हत्या गरिएको थियो । साथै दरवार हत्याकाण्ड भएर राजा वीरेन्द्रको बंशनाश भएको थियो भने दासढुंगामा जिप दुर्घटना गराएर जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको हत्या गरिएको थियो ।

त्यसैले गर्दा तेस्रो तरिकावाट विश्लेषण गर्दा यस्तो घटना पनि नदोर्होरिएला नभन्न सकिदैन । समयमा नै राजधानीको साथै देशको सुरक्षा व्यवस्था कडा गर्न जरुरी छ । बेलैमा संचेत भएर सुरक्षा निकायले बुद्धि पुर्याउनु जरुरी छ किनकी लगनपछि पोतेको के काम ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रै विशेष सुरक्षा हुन्छ । बालुवाटारबाहिर निस्कँदा सेना, प्रहरी लगायतको सुरक्षा निकायको अगुवा पछुवा हुन्छन् । यसरी चार घेराको सुरक्षा रहेका प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको विषय उठाउनु गम्भीर विषय हो ।

प्रधानमन्त्री जस्तो देशको कार्यकारी पदमा आसिन व्यक्तित्वले आफूमाथि सुरक्षा खतरा रहेको संकेत गर्नु बिडम्वनाको कुरा हो । गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको यस विषयमा गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली

आफू मारिन सक्ने खतरा रहेको प्रधानमन्त्री ओलीले गरे संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्ता ३ वटा छन् दबाब

प्रधानमन्त्री ओली भन्छन्, ‘ममाथि शारीरिक हमला हुनसक्छ’

के गर्दैछन् गृहमन्त्री र आइजीपी ? : देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास

भीम रावलले खुलासा गरे प्रधानमन्त्रीले आफुलाई सुरक्षा खतरा भन्नुका कारणहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !