७ मंसिर २०८१, शुक्रबार

उपेन्द्र यादव भन्छन्, ‘ओलीलाई हटाउन कांग्रेस अघि सरे जसपाले साथ दिन्छ’


उपेन्द्र यादव फाइल फोटो

रूपन्देही । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट नहटाएसम्म प्रतिगमनको खतरा कायमै रहेको बताएका छन् । ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने भन्दै उनले यसका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अघि बढे जसपाले साथ दिने संकेत गरेका छन् ।

आज शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनै पर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ भन्ने धारणा व्यक्त गरेका हुन् । यस्तै उनले ओली नेतृत्वको सरकारमा जसपा कुनै पनि अवस्थामा सहभागी नहुने बताए ।

मुद्दा खारेजी र बन्दी रिहाइबारे सरकारसँग छलफल भएको तर सत्ता साझेदारी हुन नसक्ने यादवले स्पष्ट पारेका हुन् । जसपाभित्र दुई धार देखिएको चर्चा भइरहेका बेला उनले कुनै पनि बहानामा ओलीसँग सहकार्य हुन नसक्ने दाबी गरे ।

यादवले मधेस र थरुहट आन्दोलनका दौरान गिरफ्तार गरिएकालाई रिहाइको माग राखिएको बताए । प्रधानमन्त्रीले संविधान धारा २८४ विपरीत अध्यादेशमार्फत सवैधानिक परिषद्‌मा नियुक्ति गरेर स्वेच्छाचारी र निरंकुश प्रवृत्ति देखाएको उनले आरोप लगाए ।

प्रधानमन्त्रीले संविधान र संसद्‌माथि प्रहार गरेपछि अहिले फेरि संसद्लाई असफल पार्ने प्रयत्न गरेको यादवको भनाइ छ । सत्ता साझेदारीको विषयले जसपामा खटपट भएर संसदीय दलको नेता छान्न सकस परिरहेको छ । जसपाका शीर्ष नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले संसदीय दलको नेता बन्ने आकांक्षा राखेपछि नेता चयन हुन सकेको छैन ।

प्रतिनिधिसभा पुनःस्थापना र कम्युनिस्ट एकता भंगको नयाँ परिस्थितिमा सत्ताको चाबी जनता समाजवादी पार्टी (जसपा) को हातमा पुगेको छ । कता ढल्किदा धेरै चिट्ठा पर्ला भन्ने रणनीतिमा जसपाका शीर्ष नेताहरु विश्लेषण गरिरहेका छन् ।

जसपा अहिले सत्ता समिकरणमा निर्णायक शक्ति केन्द्र बनेको छ । जसपाभित्र पनि महन्त ठाकुर र राजेन्द्र महतो तथा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव गरी दुई धार देखिएको छ । पहिलो धारले प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा लविङ गरेको छ भने दोस्रो धार प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताबाट विस्थापित गर्नुपर्ने पक्षमा छ ।

सत्ता समीकरणको विषयलाई लिएर जसपामा नै यी दुई धारवीच केहि समय अघिदेखि नै शीतयुद्ध चल्दै आएको छ । सत्ता समीकरणको विषयलाई लिएर जसपा नै विभाजन पो हुने हो की भनेर आशंका बढेको छ ।

यो पनि पढ्नुहोस्

बाबुरामले उठाए ओलीले पुरा गर्न नसक्ने संविधान संशोधनको माग

कता ढल्किदा धेरै चिट्ठा पर्ला जसपालाई ?

सत्ता साझेदारीको विषयले जसपामा खटपट : संसदीय दलको नेता छान्न सकस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !