८ बैशाख २०८१, शनिबार

बाबुरामले उठाए ओलीले पुरा गर्न नसक्ने संविधान संशोधनको माग

ओली-ठाकुरवीचको हुन लागेको नयाँ सत्ता साझेदारीमा बाधक बन्दै भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको सरकारसँग थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्य पुनर्संरचना हुने गरी संविधान संशोधनको माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा आज बिहानै एक स्टाटस लेख्दै डा. भट्टराईले संविधान संशोधन जसपाको सर्वसम्मत र निरन्तरको अडान रहेको बताएका छन् । यस्तै उनले रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त गर्न पनि सरकारसँग माग गरेका छन् ।

ओलीलाई आफ्नै सत्ता जोगाउन महाभारत जस्तो भएको बेला भट्टराईको यस्तो माग बाहिर आउनु राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । ओली र ठाकुरवीच हुन लागेको नयाँ सत्ता साझेदारीमा भट्टराई धेरै पहिलादेखि नै बाधक बन्दै आएका छन् ।

साथै उनले यो क्षणिक सत्ता स्वार्थ निम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस् भनेर आफ्नै पार्टी जसपाका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोका साथै प्रधानमन्त्री ओलीलाई समेत सचेत गराएका छन् ।

संविधान संशोधन विधेयक पारित हुनका लागि संसदको दुई तिहाई बहुमतको आवश्यक पर्छ । तर अहिले ओली सरकारले संविधान संशोधन गर्नको लागि चाहिने दुई तिहाई बहुमत पुरा गर्न सक्ने स्थिति छैन । बाबुरामले प्रधानमन्त्री ओलीले अहिले तत्काल पुरा गर्न नसक्ने संविधान संशोधनको असम्भव माग उठाएर एमाले र जसपावीच हुन लागेको भावी सत्ता साझेदारीमा भाँजो हालेर भड्काउन लागिपरेका छन् ।

प्रधानमन्त्री ओली र जसपा नेपालका अध्यक्ष ठाकुरवीच भावी नयाँ सत्ता समीकरणको लागि सहमति नजिक पुग्नै लागेको संकेत पाइएको छ । सर्वोच्च अदालतले नेकपा बदर गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतियाइ दिएपछि नयाँ सत्ता समीकरणमा जसपालाई आकस्मिक रुपमा चिट्ठा पर्ने सम्भावना बढेको छ ।

जसपाका माग पूरा गर्न प्रधानमन्त्री ओलीले थप लचकता देखाएर १० वटा मन्त्रालय र उपसभामुख दिन तयार भएसंगै जसपा सरकारमा जाने सम्भावना बढेको जसपा विशेष स्रोतले जानकारी दिएको बेला जसपाका नेपालका संघीय परिषद् अध्यक्ष डा. भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

जसपा अहिले सत्ता समिकरणमा निर्णायक शक्ति केन्द्र बनेको छ । जसपाभित्र पनि महन्त ठाकुर र राजेन्द्र महतो तथा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव गरी दुई धार देखिएको छ । पहिलो धारले प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा लविङ गरेको छ भने दोस्रो धार प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताबाट विस्थापित गर्नुपर्ने पक्षमा छ ।

सत्ता समीकरणको विषयलाई लिएर जसपामा नै यी दुई धारवीच केहि समय अघिदेखि नै शीतयुद्ध चल्दै आएको छ । सत्ता समीकरणको विषयलाई लिएर जसपा नै विभाजन पो हुने हो की भनेर आशंका बढेको छ ।

यो पनि पढ्नुहोस्

जसपाको मागमा प्रधानमन्त्री थप लचक : १० वटा मन्त्रालय र उपसभामुख दिन तयार

रोकिएन बाबुरामको रोइलो : भन्छन्, ‘ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको अधर्म’

जसपालाई प्रधानमन्त्रीको यतिठूलो अफर : ८ वटा महत्वपूर्ण मन्त्रालय दिन तयार

ओली र ठाकुरवीच बढ्यो माया-पिरती : जसपा सरकारमा जाने सम्भावना तीव्र

ओली-ठाकुरवीच बढेको माया-पिरती र देउवाको अभिव्यक्तिले बाबुरामलाई छट्पटी

फेरि रोकिएन बाबुरामको रुवाबासी : ओलीलाई गरे यतिसम्मको गाली

ओली ठाकुरको भरमा, दाहाल देउवाको भरमा : को होलान् त सफल ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !