८ बैशाख २०८१, शनिबार

सत्ता साझेदारीको विषयले जसपामा खटपट : संसदीय दलको नेता छान्न सकस


बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त ठाकुर र राजेन्द्र महतो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले संसदीय दलको नेता बन्ने आकांक्षा राखेपछि नेता चयन हुन सकेको छैन ।

तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर बनेको जसपाले एक वर्ष हुन लाग्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन। पार्टीभित्र सहमति हुन नसक्दा दलको नेता चयन हुन नसकेको हो ।

एकीकृत भए पनि सिंहदरबारमा तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी संसदीय दलका अलगअलग कार्यालय छन् । यसैगरी एकीकरणअघिकै अवस्थामा अलगअलग संसदीय दलका नेता र अलगअलग प्रमुख सचेतक छन् ।

तत्कालीन समाजवादी पार्टीका तर्फबाट संसदीय दलको नेता उपेन्द्र यादव र प्रमुख सचेतक उमाशंकर अरगरैया छन्। तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलको नेता महन्थ ठाकुर र प्रमुख सचेतक लक्ष्मणलाल कर्ण छन् । एउटै संसदीय दल बनाउन जसपाका शीर्ष नेताहरू केही दिनदेखि गृहकार्यमा छन् ।

दलको नेता कसलाई चयन गर्ने भन्नेमा पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएकाले सहमति हुन सकेको छैन । स्रोतका अनुसार जसपाका पहिलो अध्यक्ष महन्थ ठाकुर संसदीय दलको पनि नेता हुन चाहेका छन् । जसपाका दोस्रो अध्यक्ष उपेन्द्र यादव पनि संसदीय दलको नेता हुन चाहन्छन् । जसपाका अर्का नेता राजेन्द्र महतो पनि संसदीय दलको नेता बन्न चाहन्छन्।

गत वर्ष महतोलाई दलको नेता दिने सहमति भएको उनी निकट नेताहरूको दाबी छ । यो कुरा महतो पनि सही भएको बताउँछन् । दुई पार्टीबीचको एकीकरणमा महतोको ठूलो भूमिका भएकाले उनैलाई संसदीय दलको नेता दिनुपर्ने माग उनी निकट नेताहरूको छ।

नयाँ सत्ता समीकरणमा जसपाले सरकारको नेतृत्व पाउने अवसर पायो भने संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले आकांक्षी धेरै देखिएका हुन्। होलीपछि मात्र यस विषयमा निर्णय हुने जसपाका नेताहरूले बताएका छन् ।

तर आकांक्षी धेरै हुँदा नेता चयन गर्न कठिन भएको स्रोतको दाबी छ। जसपाका शीर्ष नेताहरूले भने सहमतिमा संसदीय दलको नेता चयन हुने बताउँदै आएका छन्। ‘तर सहमति हुन नसक्दा नेता चयन गर्न समस्या भएको छ’, जसपाका एक सांसदले भने।

यसअघि जसपाका नेताहरूले प्रतिनिधिसभाको अधिवेशन सुरु हुनुअघि नै दलको नेता चयन गर्ने बताएका थिए। तर अधिवेशन सुरु भएपछि पनि जसपाका नेताहरूले यस विषयमा सहमति जुटाउन सकेका छैनन्। नयाँ सरकार निर्माणको गृहकार्यमा जसपाका नेताहरू विभाजित भएकाले पनि दलको नेता चयनमा त्यसको असर परेको हो।

दलका नेता चयन हुन ढिलो हुनुमा यो पनि प्रमुख कारण रहेको जसपाका नेता बताउँछन्। नयाँ सरकार निर्माणको विषयमा जसपाका नेताहरू दुई कित्तामा बाँडिएका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता समीकरणमा साझेदारी गर्न छुट्टाछुट्टै प्रस्ताव राखेका छन्।

सत्ता गठबन्धन गर्न नेपाली कांग्रेसका नेताहरूले पनि जसपासँग भेटघाट र कुराकानी जारी राखेका छन्। बाबुराम भट्टराई, उपेन्द्र यादव निकट नेताहरू माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने अडानमा छन भने महन्थ, महतोलगायतका नेता ओलीसँग निकट देखिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !