१४ बैशाख २०८१, शुक्रबार

ओली र ठाकुरवीच बढ्यो माया-पिरती : जसपा सरकारमा जाने सम्भावना तीव्र


केपी ओली र महन्त ठाकुर फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूवीच बालुवाटारमा छलफल जारी रहेको छ । भावी सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका हुन् ।

सत्ता साझेदारीका लागि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जसपाले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रष्ट धारणा नबनाइसकेको अवस्थामा बालुवाटार प्रधानमन्त्री ओलीलाई भेट्न जानुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

बालुवाटार विशेष स्रोतका अनुसार प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच हिजो सोमबार साँझ पनि गोप्य छलफल भएको बुझिएको छ । सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको थियो ।

नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला, सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेका छन् । आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ ।

जसपा स्रोतका अनुसार पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर निकै नजिकिएका छन् । एक डेढ महिनायता उनीहरुबीच पटकपटक भेटघाट र कुराकानी भएको स्रोतले बताएको छ । ओली र ठाकुरवीच चाडैं सहमति हुनसक्ने भएपछि जसपा सरकारमा जाने जाने सम्भावना बढेको छ ।

जसपाले अघि सारेका माग प्याकेजमै सहमति गर्ने मुडमा प्रधानमन्त्री ओली पुगेको बुझिएको छ । स्रोतका अनुसार यसअघि सत्तारूढ नेकपा (एमाले) र जसपा नेपालका नेताहरुबीच भएका पटक-पटकका छलफलको निष्कर्ष अनुसार नै प्रधानमन्त्री ओली जसपाका माग पूरा गर्नेगरी अघि बढेका छन् । सत्ता संकटमा परेपछि प्रधानमन्त्री ओलीले सत्ता सहकार्यको लागि जसपाका नेताहरुसँगको छलफललाई अघि बढाएका थिए ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको नामको आधिकारिकताको विवाद टुँगो लगाएर ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पनि ब्युँतिएका हुन् । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन अझैसम्म पनि फिर्ता लिएको छैन् । उक्त विषयमा निर्णय गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा जारी रहेको छ ।

प्रधानमन्त्री ओलीले आफू अहिलेपनि बहुमतमा रहेकोले विश्वासको मत लिन तत्काल जरुरी नभएको बताउँदै आएका छन् । उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफूले संसद्बाट विश्वासको मत लिने पनि प्रधानमन्त्री ओलीको भनाई बाहिर आईसकेको छ ।

यो बीचमा प्रधानमन्त्री ओलीलाई हटाएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबीच सहकार्य गर्नेबारे पनि छलफल भएका छन् । जसपा अहिले सत्ता समिकरणमा निर्णायक शक्ति केन्द्र बनेको छ । जसपाभित्र पनि महन्त ठाकुर र राजेन्द्र महतो तथा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव गरी दुई धार देखिएको छ ।

पहिलो धारले प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा लविङ गरेको छ भने दोस्रो धार प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताबाट विस्थापित गर्नुपर्ने पक्षमा छ । जसपाभित्रको आन्तरिक किचलो र विवादका कारण पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक समेत प्रभावित बनेको छ ।

तर, जसपामा यतिवेला सांसदहरुको अंकगणित हेर्दा ठाकुर-महतोको नै पल्ला भारी भएर उनीहरु प्रधानमन्त्री ओलीसँग नै बढि छलफल र परामर्शमा छन् । जसपानिकट उच्च स्रोतले जनाए अनुसार प्रधानमन्त्री ओली उनीहरुले उठाएका सबै माग पूरा गर्नेगरी अघि बढेका छन् ।

जसपा नेपालले रेशम चौधरीको रिहाई, मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक र बन्दीहरुको रिहाईको माग राखेको छ । यी चारवटै माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । स्रोतले दिएको जानकारी अनुसार जसपाका माग पूरा गर्न सरकार सकारात्मक रहेको र यही चाडैं नै सहमति हुने सम्भावना बढेको छ ।

जसपाले राखेका माग पूरा गर्न सरकारले कार्यदलसमेत गठन गरेको छ । सो कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरु सुवास नेम्वाङ र राजन भट्टराई छन् । जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनाइएको छ । शुक्ल र कर्ण दुवै अध्यक्ष ठाकुरनिकट हुन् ।

ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल नगरी आफ्नो एकल निर्णयमा कार्यदल गठन गरेका थिए । कार्यदल सहमति नजिक पुगेको स्रोतको भनाइ छ । सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले संवाद तीव्र बढाएपछि बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरू भने असन्तुष्ट बनेका छन् । सत्ता समीकरणको विषयलाई लिएर जसपा नै विभाजन पो हुने हो की भनेर आशंका बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !