६ जेष्ठ २०८१, आइतबार

माओवादीले प्रदेश ६ को मुख्यमन्त्री २५ गते टुंगो लगाउने


maaovadi

२३ माघ, सुर्खेत । माओवादी केन्द्रले प्रदेश ६ को मुख्यमन्त्री २५ गतेभित्र टुंगो लगाउने भएको छ । मुख्यमन्त्रीका आकांक्षीहरुले अडान नछोडेपछि लम्बिएको छनौट प्रक्रिया २५ गते भित्रै टुंगिने भएको हो ।

प्रदेश कमिटीले मुख्यमन्त्रीको टुंगो लगाउन नसकेपछि तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । तर, पार्टी हेडक्वाटरले प्रदेशवाटै टुंगो लगाउन भन्दै सिफारिस भएका महेन्द्रबहादुर शाही, नरेश भण्डारी र सीता नेपालीको नाम प्रदेश कमिटीमै फिर्ता गदिदिएको छ । प्रदेशवाट मुख्यमन्त्रीको टुंगो लगाउन सकस भएपछि बिवादको सहजिकरण गर्न नेता जनार्दन शर्मा अस्थायी मुकाम सुर्खेत अाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले २५ गते भित्र प्रदेश ६ को मुख्यमन्त्रीको छनाैट हुने बताए ।

वीरेन्द्रनगरमा पत्रकारहरुसँगको कुराकानीमा उनले पार्टी पद्धती अनुसार नै २५ गतेभित्र मुख्यमन्त्री चयन गरिने बताएका हुन् । महेन्द्र शाहीलाई मुख्यमन्त्री बनाउन आउनुभएको हो भन्ने पत्रकारहरुको प्रश्नमा शर्माले भने,’त्यसो होइन, पार्टी पद्धती अनुसार चयन गर्ने हो । धेरैको दावी हुनु स्वभाविकै हो । म सहजिकरण गर्छु ।’

यसैवीच पत्रकारहरुको जिज्ञासामा नेता शर्माले सरकार गठनसँगै पार्टी एकताको प्रक्रिया पनि सँगैसँगै अघि बढ्ने बताएका छन् । तर, सरकार गठन पछि मात्रै पार्टी एकता हुने नेता शर्माको भनाइ छ । ‘पार्टी एकता त पहिल्यै भइसकेको हो । औपचारिक घोषणा हुन मात्रै बाँकी हो । कोही भ्रममा नपरे हुन्छ’ उनले भने,’अब सरकार गठन हुन्छन्,पार्टी एकता घोषणाको प्रकि्रया पनि सँगैसँगै अघि बढ्छ ।’onlinekhabar


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !