१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीसँग भएको छलफल सकारात्मक : जसपा


प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जसपा भएको छलफल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीच छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले आजको छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आइतबार कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए ।

जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ । आजको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा आफू सकारात्मक रहेको बताएको नेता कर्णको भनाइ छ । कार्यदल स्तरमा थप छलफल गर्ने गरी आजको बैठक सकिएको हो ।

जसपासँग छलफलका लागि नेकपा (एमाले) का तर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल र राजन भट्टराई सम्मिलित कार्यदल गठन गरिएको छ । यस्तै जसपाका तर्फबाट नेताहरु सर्वेन्द्रनाथ शुक्ल र कर्ण सम्मिलित कार्यदल गठन भएको छ ।

सो कार्यदलमा केही नेताहरु थप गर्ने तयारी छ । प्रधानमन्त्रीसँगको छलफलका लागि अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरु राजेन्द्र महतो र अशोक राई प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !