७ पुस २०८१, आइतबार

अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च अदालतमा


अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च अदालतमा फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत आज पुगेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड आज सर्वोच्च अदालत पुगेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत बुधबार प्रचण्डलाई सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । प्रचण्डले अदालतको अवहेलना हुने अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माको एकल इजलासले प्रचण्डलाई आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भनेपछि प्रचण्डले आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रचण्डले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताएका छन् ।

उनले यसबाट अदालतको अवहेलना हुनै नसक्ने दाबी समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा यसअघि नै सर्वोच्च अदालत पुगेर लिखित जवाफ दिइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !