८ बैशाख २०८१, शनिबार

धर्मेन्द्र रिहा-पक्राउ प्रकरण : होला त सरकार र विप्लववीच वार्ता ?


केपी ओली, धर्मेन्द्र बास्तोला र विप्लव

पृष्ठभूमि : सर्वोच्च अदालतले प्रतिबन्धित रूपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएतापनि बास्तोलालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै बलपूर्वक पुन: पक्राउ गरेको छ ।

सरकार र विप्लव समूहवीच वार्ताको चर्चा चलिरहेको बेला नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गर्नुले वार्ताको वातावरण सहज बन्ला त भन्ने जस्ता आशंका बढ्नु स्वाभाविक हो ।

सहज वातावरण बने सरकारसँग वार्ता गर्न सकारात्मक रहेको विप्लवले शनिबार विज्ञप्तिमार्फत जानकारी गराएका थिए । सरकारले यो पार्टीलाई आपराधिक समूह ठहर गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

धर्मेन्द्र पटक-पटक पक्राउ 

उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ । धर्मेन्द्रलाई प्रहरीले पहिलोपटक २०७७ साल पुस २९ गते बुधबार ललितपुरको दक्षिण भाग गिम्दी र मकवानपुरको सीमातिर पर्ने बागमती किनारमा पक्राउ गरेको थियो । बास्तोलालाई मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले पक्राउ गरेको थियो ।

बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद् भए पनि हतियार बरामदबारे प्रहरीले खुलाएको थिएन । तर सर्वोच्च अदालतले माघ २२ मा उनलाई छाड्नुपर्ने फैसला सुनायो । अदालतले आदेश गरेको केही मिनेटमा उनलाई प्रहरीले सर्वोच्चको गेट बाहिर हत्कडी लगायो ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीले उनलाई माघ २३ मा जिल्ला अदालत काठमाडौंमा उपस्थित गरायो । तर उनलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्ने आदेश दियो । उनलाई त्यसपछि पनि प्रहरीले थुन्यो ।

३५ हजार धरौटी बुझाएर छुट्नासाथ जिल्ला अदालतको ढोकाबाट माघ २६ मा उनलाई प्रहरीले फेरि पक्रियो । त्यसपछि उनलाई धरान लगेर थुनियो । हिजो अदालतवाट छुटेलगत्तै गृह प्रशासनले उनलाई फेरि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा थुनेको छ ।

बाँस्तोलालाई सर्वोच्च र काठमाडौं जिल्ला अदालतले ५ पटक छाड्ने आदेश गरिसकेको छ । तर हिजो सोमबार पाँचौ पटक प्रहरीले उनलाई सर्वोच्चको गेटबाट पक्राउ गरेर काभ्रेपलाञ्चोक प्रहरीको हिरासतमा थुनेको छ ।

धर्मेन्द्रमाथि सरकारले लगाएका आरोपहरु

प्रहरीले पहिलोपटक पुस २९ मा ललितपुरको गिम्दीबाट गिरफ्तार गरेर बास्तोलालाई जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो । २०७६ मा एकान्तकुनास्थित एनसेल मुख्यालयमा भएको विष्फोटमा धर्मेन्द्र पनि संलग्न रहेको प्रहरीको दाबी थियो ।

‘धर्मेन्द्रलाई कमलपोखरीस्थित आँगन मिठाई पसलमा बम विष्फोट गराएको आरोप छ । त्यस्तै प्रहरी वृत्त महाराजगञ्जले बसुन्धारास्थित वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा ०७६ फागुन २४ मा भएको विष्फोटमा संलग्न रहेको आरोप छ ।

ईलाका प्रहरी कार्यालय धरानले उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाएको थियो । काभ्रेपलाञ्चोकमा बाँस्तोलाको पुरानो मुद्दा बाँकी रहेको प्रहरीले दाबी गरेको छ ।

धर्मेन्द्रलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रतिबन्धित रूपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ । हिजो सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि समेत जनाएको छ । फेरि पनि सोही विषयमा पक्राउ गरिए प्रहरीलाई नै कारबाही गरिने अदालतको आदेशमा भनिएको छ ।

बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । महानगरीय प्रहरी वृत्त, सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो ।

हिजो सर्वोच्चमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी, चण्डेश्वर श्रेष्ठ अधिवक्ताहरु शिवकुमार यादव, सन्तोष कोइराला, खिमानन्द अधिकारी, राजु अधिकारी, कविता बस्नेत, चुडाबहादुर निरौला, लीलामणि पौडेल, प्रकाश महर्जनले बहस गरेका थिए । विपक्षीका तर्फबाट भने सरकारी वकिल कैलाश केसीले बहस गरी छाड्न नमिल्ने तर्क राखेका थिए ।

बन्दी प्रत्यक्षीकरणको आदेश यसअघि पनि जारी भएको भन्दै अदालतले भनेको छ- ‘अब पनि सोही विषयमा पक्राउ गरिएमा विपक्षीलाई संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन ०७३ को दफा १७ बमोजिम कारवाही हुने ब्यहोराको जनाउ विपक्षीहरूलाई दिनु र आजै थुनाबाट छाडनु ।’

विप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतको आदेशविप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

धर्मेन्द्र पुन: पक्राउ पर्नुको वास्तविकता

सरकार र विप्लव समूहवीच वार्ताको चर्चा चलिरहेको बेला बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेर फेरि हुने भनिएको वार्ता भंग होला कि भन्ने चासो बढेपनि यसको वास्तविकता अलि फरक छ । उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्रोतले जानकारी दिएको छ । उनलाई हिजै काभ्रे पठाउने तयारी भएर उनलाई प्रहरीले पुन: पक्राउ गरेको थियो ।

तर अदालतको आदेश पाएर रिहा भए लगत्तै प्रहरीको टोलीले लछारपछार गर्दै नियन्त्रणमा लिएर लगेको थियो । अदालत बाहिरबाट उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता मुद्दामा अनुसन्धान गर्न पठाइएको हो । प्रहरी स्रोतका अनुसार काभ्रेमा बास्तोलाविरुद्ध संगठित अपराधको मुद्दा दर्ता भएको थियो ।

सरकारसँग वार्ताका लागि विप्लवले निकालेको विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएका थिए । महासचिव विप्लवले फाल्गुन ८ गते शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका थिए ।

विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको थियो, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

केहि समय अघिदेखि सरकार र विप्लव समूहका नेताबीच अनौपचारिक संवाद चलिरहेको थियो । प्रधानमन्त्री र गृहमन्त्रीले विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउने बताइरहेका थिए ।

सरकारसँग वार्ता र संवादका लागि विप्लव समूह सकारात्मक (विज्ञप्तीसहित)

विप्लवसँगको वार्ता वारेमा प्रधानमन्त्री ओलीको धारणा

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहले सरकारसँग वार्ता हुने भयो भनेर केही मान्छे छटपटिन थालेका बताएका थिए । अस्ति आइतबार पाँचौ इन्द्रदह पर्यटन महोत्सवलाई काठमाडौँको दहचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारसँग विप्लव वार्ता गर्न सकारात्मक हुँदा कतिपयलाई मन नपरेको आरोप लगाएका थिए ।

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ संकेत गर्दै आफूतिर आउनुपर्नेमा सरकारतिर गयो भनेर केही मान्छे छटपटिएको बताएका थिए । विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहानेहरूमा छट्पटी भएको पनि ओलीले बताएका थिए ।

मन्त्री ज्ञवाली र विप्लव नेता पुनबीच वार्ता

सरकारले विप्लव समूहसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणाम नजिक पुगेपछि औपचारिक रुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको गोप्य स्रोतले जनाएको छ ।

यसबीच सरकार र विप्लव समूहबीच अनौपचारिक पत्र आदान-प्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका नेता चिरन पुनबीच काठमाडौँमा नै वार्ता भएको थियो । सो वार्तामा अब बस्ने मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र सरकारको तर्फबाट वार्ता टोली गठनको निर्णय गर्ने सहमति भएको स्रोतले जानकारी दिएको थियो ।

स्रोतका अनुसार यसअघि नै पत्रमार्फत् विप्लव समूहले आफ्ना माग सरकारी पक्षलाई दिएको थियो । सरकारी पक्ष जघन्य अपराधमा संलग्नलाई भने छाड्न सहमत छैन । वार्ता जारी राखिँदा सरकारी पक्षले विप्लवका नेता तथा कार्यकर्तालाई भने पक्राउ गर्ने क्रम बन्द गरेको छैन ।

सरकार-विप्लव गोप्य वार्ता, सरकारमा जाने सम्मको थियो तयारी

नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच गोप्य सहमति भएको बुझिएको थियो । सरकारसँग हालै भएको गोप्य वार्तामा उक्त पार्टीका तर्फबाट विप्लव या उनले सुझाएका प्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा जाने सहमति समेत भएको सरकारी उच्च स्रोतले बताएको थियो ।

गत माघ २३ गते दरबारमार्गमा भएको शक्ति प्रदर्शनका बेला नै यो सहमति घोषणा गर्ने तयारी ओलीले गरेको भएपनि अन्तिम समयमा आएर त्यो रद्द गरिएको बुझिएको छ । सरकार र यो पार्टीबीचको सहमतिमा हालै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यागी ओली सरकारमा गएका खानेपानी मन्त्री मणि थापाले सक्रिय भूमिका खेलेको स्रोतले बताएको थियो ।

मन्त्री थापाले २० दिन अघि नख्खु जेलमा पुगेर सो पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेटेका थिए । वलीले मन्त्री थापालाई स्वागत गर्नुका साथै सुदर्शनसँग खिचेको आफ्नो तस्बिर थापाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि सरकारबीच यो पार्टीको अनौपचारिक संवाद भइरहेको चर्चा चल्दै आएको थियो ।

शनिबार नै प्रधानमन्त्री ओली विराटनगर पुगेर विप्लव समूहसँग वार्ता सफल हुने ठोकुवा गरेका थिए भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विप्लव समूहसँग वार्ता गर्न सरकार सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । यसबाट पनि ओली सरकार विप्लवसँग सहमति गरेर अघि बढ्न खोजेको आंकलन गरेपनि तत्कालको लागि त्यो टरेको छ ।

रिहालगत्तै धर्मेन्द्रको भनाई

सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै अदालत परिरसमा पत्रकारहरुसँग कुरा गर्दै नेता बास्तोलाले सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको बताएका छन् । तर वार्तामा बस्नुपूर्व सरकारले आफ्नो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै बन्दी नेता कार्यकर्ताहरुलाई रिहा गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।

साथै उनले आफ्नो पार्टी वार्ताद्वारा राजनीतिक समाधान निकाल्न तयार नै भएको बताउदै यसबारे पार्टीमा छलफल भएर एजेण्डाहरु समेत तय भएको उनले बताएका छन् । उनले यदि सरकारले वार्ता गर्ने हो भने हो भने आफुहरु एजेण्डासहित आउने खुलासा गरेका छन् । तर नेता कार्यकर्तालाई पक्राउ गरिरहेकाले सरकार समस्या समाधानमा कति गम्भीर हो भन्ने प्रतिप्रश्न उनले गरेका थिए ।

अब ओली सरकारसँग वार्ता नगर्ने, अर्को नयाँ सरकार बनेपछि मात्र वार्ता हुने

सरकारले बिप्लवसँग वार्ता गर्ने भनिरहेको बेला उक्त पार्टीका नेता धर्मेन्द्र बाँस्तोलालाई अदालतबाट रिहा भएलगत्तै प्रहरीले पुन: पक्राउ गरेपछि विप्लव माओवादी ओली सरकारसँग रुष्ट भएको छ ।

विप्लव माओवादी निकट जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले अब ओली सरकारसँग वार्ता नहुने, अर्को नयाँ सरकार बनेपछि मात्र वार्ता हुने बताएका छन् । थपलियाले ओली सरकारसित वार्ता नहुने कुरा प्रष्ट शब्दमा लेखेका छन् ।

बाँस्तोला गिरफ्तारीपछि थपलियाले सामाजिक संजालमा फेसबुकमा लेखेका छन्, ‘एकातिर वार्ता भनेर फलाक्दै हिंड्ने पनि उनै, अर्कोतिर सर्वोच्च अदालतले दिएको बाध्यकारी रिहाइको आदेशलाई निर्ममतापूर्वक बुटले कुल्चँदै न्यायालयको गेटबाट पक्रने पनि उनै । वा ‘ओली बा’, मान्नुपर्छ तपैंको राजनीति, छलनीति र निचनीति ! कञ्चन कमरेड क्वै वात छैन ।

आज सिङ्गो देश जेलहिरासतमा फेरिएको छँदैछ, श्रमजीवी तथा उत्पीडित जनतालाई प्रत्यक्ष वा परोक्ष रूपमा नेलहतकडी लगाइएकै त छ । संकटकाे भुँवरीमा नराम्ररी फसेपछि यतिबेला वार्ता सबैभन्दा धेरै ओलीलाई नै त चाहिएकाे हाे । सामान्यतया लड्नेहरूका लागि वार्ता प्राथमिकतामा पर्दैन । अविश्वासैअविश्वास र धाेकैधाेकाकाे चाङमाथि बसेर कसरी वार्ता हुन्छ ?

ओली सरकारकाे आजको दुष्कार्यले अब ओली नेतृत्वको सरकारसित कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको वार्ताको सम्भावना पनि लगभग समाप्त भयाे । अब ओली सरकारको चिहानमाथि बन्ने अर्को सरकारसित वार्ता हुने कोर्स अघि बढ्यो । निरन्तर लडाइँको मोर्चाबाट वैज्ञानिक समाजवादी राज्यप्रणाली स्थापना गर्ने कार्यभार त छँदै छ । आउनुहोस्, निर्धक्कसित जनक्रान्तिको मोर्चा सम्हालौँ ।

निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएका थिए । महासचिव विप्लवले फाल्गुन ८ गते शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका थिए ।

यस्तै ओलीले आफूले पृथकतावाद र हिंसातर्फ लागेकाहरुलाई शान्तिपूर्ण राष्ट्रिय मूलधारमा ल्याउने अभियानमा सफलता पाउँदै गएको दावी समेत गरेका थिए । सरकारलाई अवरोध गर्ने व्यक्तिहरु पार्टीबाट बाहिरिएपछि बल्ल देश र जनताको पक्षमा उल्लेखनीय काम अघि बढाउन सहज भएको ओलीले बताएका थिए ।

पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मुलधारमा आउँदा पनि अरूलाई छट्पटी भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले देश, जनता र विकासप्रति इमान्दार भई योगदान गर्नुपर्ने पनि बताउँदै राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुनुपर्ने बताएका थिए ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच गोप्य सहमति भएको बुझिएको थियो । सरकारसँग हालै भएको गोप्य वार्तामा उक्त पार्टीका तर्फबाट विप्लव या उनले सुझाएका प्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा जाने सहमति समेत भएको सरकारी उच्च स्रोतले बताएको थियो । तर धर्मेन्द्रको पक्राउपछि सरकार र विप्लव वीचको सम्वन्धमा चिसोपन आएको देखिन्छ ।

सर्वोच्चले धर्मेन्द्रलाई छोड्न चेतावनीपूर्ण आदेश दिएपनि प्रहरीले पुन: पक्राउ गरेको छ । यसअघि पनि प्रहरीले सर्वोच्चको आदेशको अवज्ञा गर्दै विप्लव समूहका नेताहरुलाई पटक-पटक पक्राउ गर्दै आइरहेको थियो । प्रहरीले धर्मेन्द्रलाई अदालतको आदेशको अवज्ञा गर्दै फेरि पक्राउ गरेको छ ।

बाँस्तोलालाई ‘बिना कारण थुनेको’ अदालतको ठहर छ । धर्मेन्द्रको मुद्दामा बहस गरेका अधिवक्ता एकराज भण्डारीका अनुसार प्रधानमन्त्री, प्रहरी र गृह मन्त्रालयले कानुन नमानी दिनदहाडै कानुन मिचेकोले गृहसचिव र आइजीपीविरुद्ध अदालतको अवहेलनाको निवेदन दिने बताएका छन् ।

सरकारले बिप्लवसँग वार्ता गर्ने भनिरहेको बेला उक्त पार्टीका नेता धर्मेन्द्र बाँस्तोलालाई अदालतबाट रिहा भएलगत्तै प्रहरीले पुन: पक्राउ गरेपछि विप्लव माओवादी ओली सरकारसँग रुष्ट भएको छ । विप्लव माओवादी निकट जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले अब ओली सरकारसँग वार्ता नहुने, अर्को नयाँ सरकार बनेपछि मात्र वार्ता हुने बताएका छन् । थपलियाले ओली सरकारसित वार्ता नहुने कुरा प्रष्ट शब्दमा लेखेका छन् ।

केपी ओली नेतृत्वको सरकारले बिप्लवसँग पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेर वार्ता गर्ने कुरालाई तीव्रताका साथ भनिरहेको बेला सो पार्टीका नेता धर्मेन्द्रलाई सर्वोच्च अदालतले रिहा गरेलगत्तै पुनः पक्राउ गरेकोमा सरकारको नियतप्रति विप्लव माओवादी संशकित भएको छ । एकातिर वार्ता गर्ने भनेर अस्त्र फाल्ने अर्कोतिर बाँस्तोलालाई पक्राउ गर्नुले ओलीको नियतप्रति विप्लव माओवादी संशकित भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजन भएर कमजोर भएको केपी ओली नेतृत्वको सरकारले केवल राजनीतिक रुपमा आफूले प्रतिबन्धित भई भूमिगत राजनीति गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सिके राउतको जस्तो मूलधारमा मात्र ल्याएर आम नागरिकमा भावनालाई जित्न मात्र यो सरकारले रणनीतिक जुक्ति अपनाएको त होइन भन्ने अन्योलमा विप्लव समूह रणभुल्लमा परेको पनि हुनसक्छ भन्ने आंकलन गर्न सकिन्छ । यसवाट के देखिन्छ भने सरकार र विप्लववीच हुने भनिएको वार्तामा खटपट सिर्जना भएको छ ।

धर्मेन्द्रले हिजो रिहापछि आफ्नो पार्टी वार्ताद्वारा राजनीतिक समाधान निकाल्न तयार रहेको बताएका छन् । छलफल बहस गरेर आफ्ना एजेण्डाहरु तयार गरिसकेकोले राजनीतिक निकास निस्किएर देशको आर्थिक समृद्धि, राजनीतिक स्थिरता होस् भन्ने चाहना राख्दै आफूसँग एजेण्डा पनि भएको बताएका थिए ।

यदि सरकारले वार्ता इमान्दारीपूर्वक गर्ने हो भने आफुहरुले पनि कुराहरु राख्ने बताएका थिए । उनले आफूहरु सरकारसँग छलफल गर्न र वार्ताबाट आफ्ना एजेण्डा बुझाइ देशलाई एउटा निकास दिन चाहेको बताएका थिए ।

हिजो सोमबार सरकार र विप्लव दुवै पक्षले वार्ता समिति सार्वजनिक गर्ने बताइएतापनि चर्चा गरेझैँ वार्ता समिति सार्वजनिक नभई विप्लव समूहका नेता धर्मेन्द्रलाई रिहा गर्न अदालतले दिएको आदेश विपरित पुनः पक्राउ गरिएको छ ।

आफ्नै सरकारले प्रतिबन्ध लगाएको समूहप्रति प्रधानमन्त्री ओलीको एकाएक लगाव किन बढ्यो होला ? पार्टी फुटेपछि रक्षात्मक बनेका ओलीको राजावादीदेखि विप्लवसम्म झुकाव बढ्नुको कारणचाँहि प्रचण्ड-नेपालप्रतिको प्रतिशोध रहेको बताइन्छ ।

वार्ताका नाममा विप्लव समूहप्रति सहानुभूति देखाएजस्तो गर्ने र प्रचण्ड-नेपाल समूहमाथि दबाब बढाउने प्रधानमन्त्री ओलीको रणनीति रहेको आंकलन गर्न सकिन्छ । धर्मेन्द्रको पुनः पक्राउले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुने र अन्य बन्दीको रिहाइपछि औपचारिक वार्ता हुने सम्भावना तत्काललाई टरेको छ ।

यो पनि पढ्नुहोस्

सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि पक्राउ परे न‍ेता धर्मेन्द्र

विप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

विप्लव समूहप्रति सरकार कठोर बन्दै : नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

विप्लवसँग वार्ता हुने भयो भनेर केही मान्छे छटपटिन थालेका छन् : प्रधानमन्त्री ओली

सरकारसँग वार्ता र संवादका लागि विप्लव समूह सकारात्मक (प्रेस विज्ञप्तिसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !