८ बैशाख २०८१, शनिबार

विप्लवसँग वार्ता हुने भयो भनेर केही मान्छे छटपटिन थालेका छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले भन्छन्, 'सरकारसँग विप्लव वार्ता गर्न सकारात्मक हुँदा कतिपयलाई मन परेको छैन'


विप्लव र केपी ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित भूमिगत रूपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारसँग वार्ता हुने भयो भनेर केही मान्छे छटपटिन थालेका बताएका छन् । आज आइतबार पाँचौ इन्द्रदह पर्यटन महोत्सवलाई काठमाडौँको दहचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारसँग विप्लव वार्ता गर्न सकारात्मक हुँदा कतिपयलाई मन नपरेको आरोप लगाएका छन् ।

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ संकेत गर्दै आफूतिर आउनुपर्नेमा सरकारतिर गयो भनेर केही मान्छे छटपटिएको बताएका हुन् । विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहानेहरूमा छट्पटी भएको पनि ओलीले बताए ।

ओलीले आफूले पृथकतावाद र हिंसातर्फ लागेकाहरुलाई शान्तिपूर्ण राष्ट्रिय मूलधारमा ल्याउने अभियानमा सफलता पाउँदै गएको दावी समेत गरे । सरकारलाई अवरोध गर्ने व्यक्तिहरु पार्टीबाट बाहिरिएपछि बल्ल देश र जनताको पक्षमा उल्लेखनीय काम अघि बढाउन सहज भएको ओलीले बताए ।

पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मुलधारमा आउँदा पनि अरूलाई छट्पटी भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले देश, जनता र विकासप्रति इमान्दार भई योगदान गर्नुपर्ने पनि बताउँदै राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !