६ जेष्ठ २०८१, आइतबार

राष्ट्रियसभामा वामलाई जिताउनको लागि ओली- प्रचण्डको रणनीति


oli-prachanda

१५ माघ, काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभामा बढी भन्दा बढी सदस्य जित्नका साना दलहरुसँग साझेदारीको रणनीति बनाएर अगाडि बढ्ने निर्णय गरेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेतासहित बसेको कार्यदलको बैठकले प्रदेश ३ लगायतका केही प्रदेशमा गठबन्धन कमजोर रहेकोले यी प्रदेशका उम्मेदवारहरुलाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

विशेष गरेर प्रदेश- ३ लगायत केही प्रदेशका कमजोर उम्मेदवारलाई विजयी बनाउनका लागि अन्य दलसँगको मत तान्ने रणनितिमा बामगठबन्धन लागेको हो । बैठकमा कार्यदलले दिएको सुझावका आधारमा जित निश्चित भएका उम्मेदवारबाहेक जोखिम र कमजोर उम्मेदवारलाई जिताउनका लागि अन्य दलसँग छलफल गर्ने निर्णय भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार जित सुनिश्चित नहुने भएमा प्रदेश- ३ का आफ्ना उम्मेदवार वेदुराम भुसाललाई फिर्ता गराइने विषयमा पनि छलफल भएको थियो । २४ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेले २९ र माओवादीले १४ जनाको उम्मेदवारी दिएको छ । तर, प्रदेश- २ मा माओवादीका उम्मेदवारको उम्मेदवारी नै नपरेको र प्रदेश- ५ मा एमालेका उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !