२३ पुस २०८१, मंगलबार

प्रचण्ड-नेपाललाई धक्का लाग्ने संकेत : शशांक भन्छन्, ‘आन्दोलमा कांग्रेस कसैसँग मिल्न हुँदैन’


डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएसंगै प्रचण्ड-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई धक्का लाग्ने संकेत देखिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरिरहेको नेकपाको प्रचण्ड-माधव समूहले सबै पक्षलाई समेटेर संयुक्त आन्दोलन गर्ने बताइरहेको बेला कोइरालाको यस्तो भनाइ आएको छ ।

आज सोमबार पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका दिवंगत सभापति सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको ‘संकटमा संविधान विषयक’ विचार गोष्ठिमा बोल्दै कोइरालाले नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएको कारणले संयुक्त आन्दोलनमा जानु नहुने तर्क गरेका छन् ।

संयुक्त आन्दोलनमा गए नेपाली कांग्रेसलाई घाटा हुने बताउदै कोइरालाले आफ्ना कार्यकर्ताहरूलाई समेटेर एकजुट बनाई लिएर जान सके नेपाली कांग्रेसको भविष्य उज्वल रहेको बताएका हुन् ।

यसले गर्दा प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरिरहेको पार्टीको आवाज बुलन्द नहुने देखिएको छ भने केपी ओलीको नेतृत्वमा रहेको नेकपाको लागि सहज हुने संकेत आंकलन गर्न सकिन्छ ।

तर नेपालको राजनीतिको भविष्यवाणी विगतदेखि नमिल्ने भएकोले यसै हुन्छ भन्ने त सकिदैन किनकी सत्ता र शक्तिको लागि स्वार्थ मिल्यो भने नेपालका राजनीतिक दलका नेताहरु जस्तोसुकै सहमति गर्न पनि पछि पर्दैनन् किनकी नेपालका नेताहरु कुरा एउटा कम अर्को गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !