७ बैशाख २०८१, शुक्रबार

जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप, पूर्वमन्त्री झा घाइते


रामचन्द्र झा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आज बिहीबार एकदिन देशव्यापी आमहड्तालका क्रममा जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रहरी दुवैतर्फ घाइते भएका छन् ।

नेकपाका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा घाइते भई थप उपचारको लागि अस्पताल लगिएकोमा उनको टाउकोमा चोट लागेकोले ६ वटा टाँका लगाउनु परेको छ । झडपमा प्रहरी जवान लालबाबु राय गम्भीर घाइते भएका छन् ।

साथै अन्दोलनकारीतर्फ नेकपाका नेता मातृका यादवको खुट्टामा चोट लागेको छ । साथै शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत घाइते भएका छन् ।

जनकपुरको शिवचोकमा प्रहरीले आन्दोलनकारीलाई अवरोध गर्न खोज्दा भएको झडपमा दुवैतर्फ घाइते भएका हुन् । जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

बजार गराउन जनकपुरधामको शिव चोक पुगेका अन्दोलनकारीहरूलाई प्रहरीले अवरोध सिर्जना गरेपछि झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा र यादव सहितका नेता घाइते भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !