९ असार २०८१, आइतबार

प्रधानमन्त्रीले आज शिलान्यास गर्ने कार्यक्रम भरतपुर महानगरपालिकाले बहिस्कार गर्ने


प्रधानमन्त्रीले गर्ने भनिएको सिटी हल र ६ लेन सडक शिलान्यास कार्यक्रम भरतपुर महानगरपालिकाले बहिस्कार गर्ने

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज माघ १७ गते भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरपालिकाले बहिष्कार गर्ने भएको छ ।

हिजो पत्रकार सम्मेलन गर्दै महानगरकी मेयर रेणु दाहालले आफूहरुको समन्वय बिना नै शिलान्यास गर्न लागिएको भन्दै कार्यक्रम बहिष्कार गर्न लागेको जानकारी दिएकी थिइन् । हिजो महानगर प्रमुख दाहालले महानगरसँग कुनै समन्वय नै नगरी, कुनै जानकारी नगराई स्थानीय तहको गौरवको आयोजनामा केन्द्र सरकारले हस्तक्षेप गर्नु राज्यको दुरुपयोग भएको बताएकी छिन् ।

देश संघीयतामा गएको अवस्था र देशको राजनीति संकटको अवस्थामा महानगरसँग कुनै समन्वय र जानकारी नगराईकन दुवै परियोजनाको शिलान्यास गर्ने तयारी गरेकोमा पत्रकार सम्मेलन गर्दै विरोध जनाएको महानगरले बताएको हो ।

संघीयताको मुल मर्म विपरित केन्द्रिकृत शासनको झल्को दिने खोजिएको बताउदै मेयर दाहालले यो कार्यले स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप भएकोले केन्द्र सरकारले स्थानीय सरकारमाथि गरेको गम्भीर विभेद हाम्रो लागि सह्य नभएको पनि बताएकी छिन् ।

विकास र निर्माणमा आफुहरु विरोध नरहेको भन्दै विधि र प्रक्रियतालाई मिचेर गर्ने कामले विगत ३ वर्षदेखि प्रयास गर्दागर्दा बल्ल निर्माणको काम सुरु भएको अवस्थामा केन्द्र सरकारले आफूखुसी शिलान्यासको काम गर्न खोजेको सुन्दा महानगरको चित्त दुःखेको उनले बताएकी छिन् । यसरी ओली समूह र प्रचण्ड समूहको जुँगाको लडाई स्थानीय तहसम्म देखिन थालेको छ ।

संघीय सरकारको बजेटमा भरतपुर महानगरपालिका-१० स्थित जिल्ला समन्वय समितिको पछाडी रहेको ४ विघा ४ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न हल निर्माण भइरहेको छ । २०७५ पुस १७ गते भरतपुर महानगरको नाममा जग्गाको लालपूर्जा प्राप्त भएपछि सिटीहल निर्माणको प्रक्रिया अघि बढेको हो । यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गर्ने भएका हुन् ।

उक्त सडक निर्माणको काम पनि अहिले धमाधम भइरहेको छ । नेकपा चितवनले माघ ११ गते आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री ओलीले भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधनको कार्यक्रमबारे जानकारी दिएको थियो ।

भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः१५ बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह लगायतका नेताको सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वर्तमान राजनीतिक परिस्थितिमा संसद् विघटन गर्नुपरेको बाध्यात्मक परिस्थितिबारे पनि सर्वसाधारणलाई प्रधानमन्त्रीले स्पष्ट पार्ने कार्यक्रमको उद्धेश्य रहेको छ ।

यो पनि पढ्नुहोस्

भरतपुरको सिटीहल र ६ लेन सडकको प्रधानमन्त्रीले शिलान्यास गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !