काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईको २३ वर्षीया मोडल ज्याङ्मु एन शेर्पासँग आज राजधानीको एलिस पार्टी प्यालेसमा सानो जमघटका साथ विवाह भएको हो ।
विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएर परम्परागत विधिबाट विवाह सम्पन्न भएको हो । कोरोना संक्रमणको त्रासका कारण थोरै संख्यामा जन्ती लगिएको बिहेमा पर्यटनमन्त्री भानुभक्त ढकाल पनि उपस्थित भएका थिए ।
राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो ।
मुख्यमन्त्री राईको विवाहको रिसेप्सनमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च अधिकारीलाई निम्ता दिइएको उनको निजी सचिवालयले जनाएको छ ।
सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा २३ वर्षकी भएकी छिन् । मुख्यमन्त्री राई र शेर्पा केहि समयदेखि प्रेम सम्वन्धमा रहेका थिए ।