१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन, १ लाख बढी भन्दा कार्यकर्ता उतार्ने दाबी

प्रचण्ड-नेपाल समूहको काठमाडौँमा शक्ति प्रदर्शन हुँदै


प्रचण्ड-नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन

काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज काठमाडौँमा १ लाख बढी कार्यकर्ता उतारी शक्ति प्रदर्शन गर्ने भएको छ ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन’ मा काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाट समेत कार्यकर्तालाई ल्याउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई सर्कुलर गरेको छ ।

पार्टीका स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा काठमाडौंका बिभिन्न ९ स्थानबाट निस्कने जुलुस राष्ट्रिय सभागृह अगाडि पुगेर सभामा परिणत हुनेछ ।माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकालिने तयारी भएको छ ।

माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने भएका छन् । डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन् ।

लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं लगायतका नेताहरुले गर्नेछन् । त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहने संघर्ष समितिले जनाएको छ ।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् ।

देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् । वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन् ।

जुलुसपछिको सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल लगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् । दाहाल-नेपाल समूहले यसअघि गत पुस १४ गते पनि काठमाडौँमा प्रदर्शन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !