१३ बैशाख २०८१, बिहिबार

प्रदेश १ का मुख्यमन्त्री राईले किन गरे अर्थमन्त्री आङबोलाई बर्खास्त ?


शेरधन राई र इन्द्र बहादुर आङबो

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोलाई आज शनिबार साँझ बर्खास्त गरेका छन् । नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

आङबोको अगुवाइमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर संकलन गरी अविश्वास प्रस्ताव आइतबार दर्ता हुन सक्ने जानकारी पाएपछि राईले नेकपाको प्रचण्ड-नेपाल समूहका आङबोलाई पदमुक्त गरिएको बुझिएको छ ।

प्रचण्ड-नेपाल समूहका सांसदहरुले दुई दिनयता अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पटक-पटक छलफल गर्दै आएका छन् । नेपाल पक्षबाट प्रदेशसभा सदस्य भीम आचार्यको नाम नयाँ मुख्यमन्त्रीका लागि चर्चा छ भने प्रचण्ड पक्षबाट मन्त्री आङबोकै नाम पनि चर्चामा छ ।

आङ्बोले प्रदेस सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा २ बर्ष १० महिना काम गरेका थिए । नरम स्वभावका आङ्बोले प्रदेश सरकारमा आर्थिक सुशासन कायम गरेर सरकारका मन्त्रीहरुमध्ये सबैभन्दा बढी लोकप्रियता कमाएका थिए । उनी आगामी दिनका सम्भावित मुख्यमन्त्रीको रुपमा चिनिन्थे ।

यसैबिच पदमुक्त गरिएका मन्त्री आङ्बोले मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन् । प्रदेश सरकारमा काम गर्ने अवसर दिएको भन्दै उनले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका हुन् ।

९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसदमध्ये प्रचण्ड-नेपाल समूहका ४७ जना छन् भने ओली पक्षका २० जना मात्रै रहेका छन् । यो प्रदेशमा प्रचण्ड-नेपाल समुह मिलेर मुख्यमन्त्री राई नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए उनी सहजै हट्न सक्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !