९ जेष्ठ २०८१, बुधबार

मन्त्रिषरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली, मन्त्री बन्नेमा यी नेताहरुको चर्चा


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । नेकपा विभाजन भएर दुई समूहमा बाँडिएपछि ओलीले मन्त्रिपरिषद्लाई नयाँ अनुहारहरूलाई सामेल गर्न लागेको उनी निकट नेताहरुले बताएका छन् ।

नेकपाको ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिजो बिहीबार नै सरकारको पहिलो काम मन्त्रिषरिषद् विस्तार हुने बताएका थिए । प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको बताएका छन् ।

ओलीनिकट अर्का एक नेताले पनि विस्तारको गृहकार्य भइरहेको बताए । शुक्रबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । नेकपा विभाजनको संघारमा रहँदा पुष्पकमल दाहाल र माधव नेपाल पक्षमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका छन् ।

प्रचण्ड-नेपाल समूहका राजीनामा दिएका मन्त्रीको ठाउँमा ओलीले नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएपछि आकांक्षीहरु बढेका छन् । उनी निकट स्रोतका अनुसार पुनर्गठनमा दाहाल पक्षबाट आफूतिर आएका टोपबहादुर रायमाझी लगायतका केही नेतालाई मन्त्री बनाउने तयारी ओलीको छ ।

मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर राना लगायतको नाम चर्चामा रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !