८ पुस २०८१, सोमबार

स्थायी समिति बैठकमा ओली नआएपछि किन रावल र भुसाल पुगे अचानक शीतलनिवास ?


राष्ट्रपति कार्यालय शीतलनिवास

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजेको लागि बोलाइएको स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली नआएपछि स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाल सहितको टोली अचानक राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

संसद बैठक आह्वानका लागि अनुरोध गर्न हस्ताक्षर सहित स्थायी समिति सदस्यहरु रावल र भुसाल शीतल निवास पुगेको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालय स्रोतका अनुसार नेताहरु राष्ट्रपतिलाई भेट्नका लागि शीतल निवास आएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै चर्को विरोध हुँदै आएको छ । यही विवादका कारण स्थायी समिति बैठक समेत प्रभावित भएको र संसद बैठकको विकल्प नभएको निष्कर्ष निकाल्दै नेकपाको तर्फबाट रावल र भुसाल शीतल निवास पुगेका हुन् ।

नेकपाका प्रमुख सचेतक देव गुरूङले संविधानको धारा ९३ को ३ बमोजिम विशेष अधिवेशन माग गर्न पाइने भएकोले सोही अनुसार उनीहरू राष्ट्रपति निवास गएको हुनसक्ने आंकलन पनि गर्न सकिन्छ ।

तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बुझाउन अझसम्म नपाई राष्ट्रपति कार्यालयमा घण्टौं कुरेर बसेको र आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले उक्त अध्यादेशमा उत्प्रेषण, प्रतषेध लगायत उपयुक्त आदेश पनि जारी गर्न माग गर्दै बुधबार रिट निवेदन दिएका हुन् ।

अर्यालले निवेदनमा अध्यादेशले संवैधानिक व्यवस्थामा प्रश्न ल्याएको उल्लेख गरेका छन् । उनले दिएको निवेदन सर्वोच्च अदालतको नियमित कार्यसूचीमा प्रवेश गरेको छ। निवेदनमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !