२८ कार्तिक २०८१, बुधबार

समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारीमा नेकपा : अध्यक्ष दाहाल


पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताएका छन् ।

नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर साहसहित १०९ नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले भने, “हाम्रो पार्टीभित्र चल्ने बहस र छलफल त्यही समाजवादतिरको यात्राका लागि हुन् । समाजवादतिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यतालाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्धति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।”

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणाली मार्फत देशमा आर्थिक विकासको नयाँ यात्रातिर आफूहरु अगाडि बढेको बताए । उहाँले भने, “यो बेला पक्कै पनि चुनौती आउँछन् । ती समस्या र चुनौतीको पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टीभित्रै छ ।

कम्युनिष्ट पार्टीले आफैँभित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवादतिर लाग्नेछौँ ।” उनले नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए ।

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले साहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताए । उनले भने, “मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन् । मानिसको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने रहेछ ।”

नेतृ साहले नेपाली काँग्रेसभित्र मौलाएको गलत प्रवृत्तिका कारण आफूले सो पार्टी परित्याग गरेको बताए । उनले देशमा आएको जाति, लिङ्ग र समुदायमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गरे । दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उनी संविधानसभा सदस्य भएकी थिइन् ।

यो पनि पढ्नुहोस्

नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्य काैसर शाह नेकपामा प्रवेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !