११ मंसिर २०८१, मंगलबार

किन र कसरी अचानक कांग्रेस नेता रामचन्द्र पौडेल पुगे प्रहरी हिरासतमा ?


रामचन्द्र पौडेल पुगे प्रहरी हिरासतमा

तनहुँ । तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । व्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुग्नुभएका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो । प्रहरीले सुरक्षाका लागि उहाँले प्रहरी कार्यालय लगेको बताएको छ । नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिनुभएको छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ पौडेलले लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’

पुल उद्घाटनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो । एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख छ ।

कार्यक्रम रोक्न माग गर्दै युवा सङ्घले दमौलीमा मोटरसाइकल र्‍या​लीसहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घ अध्यक्ष बस्याल, नेकपा व्यास नगरपालिका-१ का अध्यक्ष ज्ञानेन्द्र बसौला लगायत छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !