७ मंसिर २०८१, शुक्रबार

ओली गएनन् नेकपा सचिवालय बैठकमा : अर्को बैठक मंसिर २० गते बस्ने


ओली गएनन् नेकपा सचिवालय बैठकमा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहि समयअघि मात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै अनुपस्थित भएपछि अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि आजको सचिवालय बैठक बोलाइएको थियो । नेकपा दुई अध्यक्षहरु ओली र प्रचण्ड वीचको व्यक्तिगत शक्तिसंघर्षले गर्दा नेकपा विवाद चरम उत्कर्षमा पुगेको छ ।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको तीब्र आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन् ।

यसअघि बैठकको औचित्य नभएको भन्दै छलफलमा सहभागी नहुने अडान लिएका ओली बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको छलफलपछि भने बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहना अनुसार बैठक केहीबेर पर सारिए पनि अन्तिम अवस्थामा आएर ओली बैठकमा अनुपस्थित भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !