३० कार्तिक २०८१, शुक्रबार

नेकपा सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने, ओलीलाई कडा जवाफ दिने तयारीमा प्रचण्ड


नेकपा सचिवालय

१६ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने भएको छ । सुरक्षाका कारण धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा नै बस्ने भएको हो । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक बस्ने सूचना सचिवालयका नेताहरुलाई पठाएका छन् ।

महासचिव पौडेलले सुरक्षाको कारण धुम्बाराहीमा बस्न नसकिने भनेपछि नेताहरु बालुुवाटारमै जाने भएका छन् । यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय गरेको थियो । तर अन्तिम समयमा बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै सारिएको हो ।

बैठक आज दिउसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

उक्त बैठकमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेका डकुमेन्टहरुमाथि छलफल हुने स्रोतले बतायो । उक्त डकुमेन्ट अध्ययन गरेर प्रचण्डले आज जवाफ दिने तयारी गरेको खुमलटार स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !