८ जेष्ठ २०८१, मंगलबार

पार्टी एकता महाधिवेशन मंसीरमा गर्न ओलीको प्रस्ताव, नेपाल पक्ष असन्तुष्ट


ओली, प्रचण्ड र नेपाल

काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब बढिरहेको परिप्रेक्षमा ओलीले शनिवार बालुवाटारमा बसेको सचिवालय वैठकमा यस्तो प्रस्ताव ल्याएका हुन् ।

ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका छन् । जसको विश्लेषण गर्दा ओली-प्रचण्ड सहमतिको नजिक पुगेको अनुमान गर्न सकिन्छ । तर, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका छन् । साथै बरिष्ट नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक सकिएलगत्तै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका थिए । नेकपाका शिर्ष नेताहरुमा देखिरहने व्यक्तिगत शक्तिसंघर्षलाई मिलाउन केहि समयदेखि राष्ट्रपति भण्डारीको भूमिका महत्वपूर्ण भईरहेको आंकलन गर्न सकिन्छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टीको आन्तरिक संकटलाई सहमतिकाे आधारमा संबाेधन र समाधान गर्ने बारेमा गृहकार्य भएको बताएका छन् । साथै उनका अनुसार पार्टी एकताकाे रक्षा र सुदृढीकरण गर्न नेपाली समाजकाे आवश्यकता र जनादेश अनुरूप अघि बढ्ने प्रस्ताव तयार गरी छलफल जारी राखेर सहमतिमा निष्कर्षमा पुग्ने निर्णय गरेको पनि जानकारी दिएका छन् ।

शनिबार राम्ररी छलफल भएको तर अझ व्यवस्थित बनाउने काम अब स्थायी कमिटीले गर्ने प्रवक्ता श्रेष्ठले बताएका छन् । पूर्व निर्धारित तालिका अनुसार आइतबार सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । स्थायी कमिटी बैठक आइतबार दिउँसो ३ बजेपछि बस्दैछ ।

केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको थिएन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह थिए । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पर्दै आएका थिए । प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपा सचिवालयको निर्णय : पार्टी एकता कायम राख्दै सहमति खोज्ने

सचिवालय बैठक लगत्तै ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !