१२ असार २०८१, बुधबार

नेकपा सचिवालयको निर्णय : पार्टी एकता कायम राख्दै सहमति खोज्ने


नेकपा सचिवालय बैठक

काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शनिबार दिउँसो ३:१० बजेदेखि बसेको सचिवालय बैठक साँझ ७ बजेपछि सकिएको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टीको आन्तरिक संकटलाई सहमतिकाे आधारमा संबाेधन र समाधान गर्ने बारेमा गृहकार्य भएको बताएका छन् । साथै उनका अनुसार पार्टी एकताकाे रक्षा र सुदृढीकरण गर्न नेपाली समाजकाे आवश्यकता र जनादेश अनुरूप अघि बढ्ने प्रस्ताव तयार गरी छलफल जारी राखेर सहमतिमा निष्कर्षमा पुग्ने निर्णय गरेको पनि जानकारी दिएका छन् ।

शनिबार राम्ररी छलफल भएको तर अझ व्यवस्थित बनाउने काम अब स्थायी कमिटीले गर्ने प्रवक्ता श्रेष्ठले बताएका छन् । पूर्व निर्धारित तालिका अनुसार आइतबार सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । स्थायी कमिटी बैठक आइतबार दिउँसो ३ बजेपछि बस्दैछ ।

सचिवालय बैठक अघि नेकपा शीर्ष नेता शनिबार बिहानैदेखि छलफलमा सक्रिय थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहानै दुई घण्टासम्म सचिवालयका ५ सदस्य छलफलमा जुटेका थिए । खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । गृहमन्त्री समेत रहेका अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने उक्त छलफलमा गएनन् ।

त्यसैगरी सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा पार्टी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा समेत सहभागी थिए ।

खुमलटार र बालुवाटारका दुवै छलफल सचिवालय बैठकका एजेन्डामा केन्द्रित भएका थिए । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्को शक्ति संघर्ष देखिएपछि स्थायी कमिटी बैठक कसरी टुंग्याउने भन्ने विषयमा छलफलका लागि सचिवालय बैठक बोलाइएको थियो ।

केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

सचिवालय बैठक लगत्तै ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

बालुवाटारमा नेकपा सचिवालय बैठकअघि ओली-प्रचण्ड छलफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !