७ असार २०८१, शुक्रबार

प्रचण्ड-माधवसँग कुरा नमिलेपछि बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाए आफूनिकट नेता


केपी शर्मा ओली

काठमाडौं, साउन १। पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्का बरिष्ठ नेता माधव कुमार नेपाल बीच आज बिहिवार भएको छलफल बिना निष्कर्ष टुंगिएपछि प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूलाई बिहीबार साँझ बालुवाटारमा बोलाएका छन् ।

उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत स्थायी समिति सदस्य र सांसदहरू बालुवाटार छलफलमा सहभागी रहेको स्रोतले जानकारी दिएको छ । नेताहरूसँग प्रधानमन्त्री ओलीले भोलि बस्ने स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार दिउँसो प्रचण्ड र नेपालसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने अडान दोहोर्‍याएका थिए । आफूले राजीनामा कुनै हालतमा नदिने तर विधिसम्मत तरिकाले जसरी हटाउने हो मलाई हटाउनुस् भनेर प्रधानमन्त्रीले प्रचण्ड-माधवलाई जवाफ दिएपछि भोलि बस्ने स्थायी समिति बैठकमा आफ्नो रणनीति बनाउन उनले आफूनिकट नेताहरूसँग छलफल गरेका हुन् ।

आजको छलफलका क्रममा प्रचण्डले पार्टीको विवाद समाधान गर्न बरिष्ठ नेता नेपालसँग पनि सहमति गर्नुपर्ने बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफूहरू दुई जनाले पार्टी एकता गरेकाले नेपालसँग सहमति जरूरी नभएको बताएका थिए । कुरा नमिलेपछि तीन नेताहरूको छलफल बिना निष्कर्ष टुंगिएको थियो ।

गत असार १८ गतेदेखि स्थायी समिति बैठक बस्न सकेको छैन । सहमतिका लागि भन्दै पटक पटक स्थगित भएको स्थायी समिति बैठक पछिल्लो पटक सात दिनका लागि स्थगित भएको थियो । यसअघि एक्लाएक्लै भेट्दै आएका प्रचण्डले आज भने वरिष्ठ नेता माधव नेपाललाई पनि सहभागी गराएका थिए ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यो पनि पढ्नुहोस्

ओली, प्रचण्ड र माधव वीच भएको छलफल सकियो, आज पनि कुरा मिलेन

बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच छलफल जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !