८ बैशाख २०८१, शनिबार

वामदेवलाई फेरि आफ्नो समूहमा ल्याउन फकाउदै प्रधानमन्त्री ओली


वामदेवलाई फेरि आफ्नो समूहमा ल्याउने कोशिसमा प्रधानमन्त्री ओली

काठमाडौँ, असार २० । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई फेरि आफ्नो समूहमा ल्याउन फकाउदै गरेको संकेत पाइएको छ । प्रधानमन्त्री ओलीबाट निरन्तर धोका पाएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धनमा लागेका गौतमलाई फकाउन प्रधानमन्त्री ओलीले फेरि कोसिस गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बालुवाटार छलफलपछि महासचिव विष्णु पौडेलले गौतमलाई उनकै निवास भैँसेपाटी गएर भेटेका थिए । हिजो शुक्रबार साँझ पनि ओली समूहका अन्य नेता गौतम निवास भैँसेपाटी पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई सहयोग गरेर अघि बढ्दा नै सही राजनीतिक निर्णय हुने भन्दै मनाउने कोसिस भइरहेको स्रोतले जनाएको छ । गत ४ असारमा अध्यक्ष प्रचण्डसँगको भेटपछि गौतमले स्वकीय सचिवालय मार्फत विज्ञप्ति जारी गरेर राजनीतिक मुद्दामा आफू प्रचण्ड र नेपालको साथमा रहेको स्पष्ट पारेका थिए ।

यसअघि वैशाख तेस्रो साता सचिवालयमा गौतम सहितका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । तर, अचानक प्रधानमन्त्री ओलीले गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि गौतम पछाडि हटेका थिए ।

धेरै पटक आफूले साथ् दिंदा पनि आफूलाई उपयोग मात्र गरेको गौतमले निष्कर्ष निकालेर फेरी प्रचण्ड-नेपाल समूहमा नै अहिले उनी छन् । प्रधानमन्त्री ओलीले धेरै पटक आफूलाई धोका दिएको भनेर गौतम ओलीसँग रुष्ट रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संकट टार्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ नेताहरु सक्रिय भएका छन् । उनीहरु गएराति ८ देखि १ बजेसम्म भैंसेपाटीस्थित बामदेव गौतमको निवासमा पुगेर गम्भीर छलफल गरेको अड्कलवाजी गरिएको छ ।

गोप्य स्रोतका अनुसार हिजो रातीको छलफलमा सचिवालय सदस्य इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायत थिए । उनीहरुले पार्टीलाई फुटबाट जोगाउन ओलीलाई साथ दिन गौतमलाई मनाउन खोजेका थिए । तर, गौतमले पार्टीको निर्णय बमोजिम सबै चल्नुपर्ने भन्दै सहमति निकाल्न आफू तयार रहेको जवाफ दिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीज्यूद्वारा मन्त्रीहरु र राज्यमन्त्रीहरूसँग परामर्श लिन बालुवाटारमा बोलाइएको बैठक सकियो

प्रचण्ड-नेपाल समुहका नेताहरुको बैठक पनि खुमलटारमा जारी

प्रधानमन्त्री राष्ट्रपति भेट्न पुगे शीतल निवास, मन्त्रीहरुलाई बोलाए बालुवाटार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !