१४ बैशाख २०८१, शुक्रबार

संविधान संशोधन विधेयक आज पारित हुँदै, सरिता गिरीको प्रस्ताव पेश नहुने


प्रतिनिधिसभा

काठमाडौँ, जेठ ३१ । नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो ।

नयाँ नक्सा खारेज गर्न समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्तावलाई छलफलमा नलगी सरकारको संशोधन विधेयक संसदबाट पारित गर्ने तयारी भएको छ । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा अनुसार संविधानको अनुसूची संशोधन गर्न सरकारले पेश गरेको संशोधन विधेयक खारेज गर्न सांसद गिरीले संशोधन दर्ता गरेकी थिइन् ।

राष्ट्रको भौगोलिक अखण्डता, राष्टियता, सार्वभौमसत्ता, स्वाधीनता तथा संसद नियमावली विपरित गिरीले प्रस्ताव राखेको भन्दै उक्त प्रस्ताव संसदको छलफलमा नलगिने संसदको उच्च स्रोतले जानकारी दिएको छ । जनताको सार्वभौमसत्ता र राजकीय सत्ताको उच्च तहमा राष्टियता विरुद्धको प्रस्ताव रेकर्ड राख्न नहुनेमा सबै दल एकमत भएका छन् ।

सांसद गिरीकै पार्टी समाजवादीले पनि संशोधन फिर्ता लिन निर्देशन दिएकाले उनको प्रस्तावलाई संसदको छलफलमा नलैजाने तयारी गरिएको संसद सचिवायल स्रोत बतायो । प्रतिनिधिसभा नियमावलीको नियम ७४ मा मूल प्रस्तावको सिद्धान्तविपरित संशोधन राख्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । सरकारले संविधानको अनुसूची (३) मा रहेको निशान छापभित्र रहेको मुलुकको पुरानो नक्सा परिवर्तन गर्न संशोधन विधेयक दर्ता गरेको थियो ।

सङ्घीय संसद् सचिवालयले शनिबार १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । संविधान संशोधन विधेयकमाथि एक संशोधन प्रस्ताव पनि दर्ता भएको छ । पार्टीले प्रस्ताव फिर्ताको लिखित निर्देशन नै दिए पनि प्रस्ताव फिर्ता भएको छैन । प्राप्त संशोधन स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम अधिकार सभामुखमा हुनेछ ।

शनिबार विधेयकमा दफावार छलफलपछि पारितको प्रक्रिया अगाडि बढ्ने छ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संशोधन विधेयक पारित हुनेछ । हालसम्म सदनमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो ।

नक्सा अनुसारको निशान छाप परिवर्तनका लागि जेठ ९ गते संविधान संशोधन विधेयक दर्ता गरेको थियो । यसैबीच जनता समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !