१४ बैशाख २०८१, शुक्रबार

उपत्यकामा कोरोनावाट मृत्यु हुनेको संख्या बढेसँगै वाग्मती किनारमा यस्तो देखियो (फोटो फिचर)


वाग्मती किनारमा शवदाह

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा संक्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ ।

कोरोना संक्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । विद्युतीय शवदाह गृहमा तीनवटा शवदाह यन्त्र छन् । यी यन्त्रले नभ्याएपछि हाल वाग्मती किनारमा पनि संक्रमण भई निधन भएकाको शवदाह हुन थालेको छ ।

सङ्क्रमण भई निधन भएकाको चाप विद्युतीय शवदाह गृहमा बढ्न थालेपछि ५ वटा यन्त्र दाउराबाट जलाउन मिल्ने गरी थप्न लागिएको कोषले जनाएको छ । यी यन्त्र यसै हप्ता तयार भइसक्ने जनाइएको छ । गत वर्ष जेठ पहिलो सातापछि कोरोना सङ्क्रमण भई निधन भएकाको शव विद्युतीय शवदाह गृहमा आउन थालेको थियो । गत वर्ष धेरै शव आएका दिन १५ वटासम्म आउने गरेको थियो ।

यसवर्ष कोरोनाबाट मृत्यु हुनेको दर बढेकाले पशुपतिमा शव आउने क्रम पनि बढेको हो । विद्युतीय शवदाह गृहको एउटा यन्त्र दुई दिनअघिदेखि बिग्रिएका कारण पनि कोरोनाबाट मृत्यु भएकाको शव वाग्मती किनारका अन्य स्थानमा जलाउनु परेको कोषका प्रशासकीय अधिकृत कुमार थापाले जानकारी दिए । बिग्रिएको यन्त्र मर्मत गर्न लागिएको पनि उनले बताए ।

भष्मेश्वर र आर्यघाटमा पनि कोरोनाको दर तीव्र भएसँगै शव आउने क्रम बढ्न थालेको कोषले जनाएको छ । घाटमा सामान्य अवस्थामा निधन भएका ४० वटासम्म शव आउन थालेको छ । भष्मेश्वरमा नौ र आर्यघाटमा दुई गरी ११ घाटमा शवदाह हुने गरेको छ । यी ११ वटै घाटमा दाउराबाट शवदाह हुने गरेको छ ।

विद्युतीय शवदाह गृहमा पौने घण्टादेखि एक घण्टासम्ममा शवदाह हुने गरेको छ । दाउराबाट जलाइने घाटमा ३ देखि ४ घण्टामा शवदाह सकिने गरेको छ ।

काठमाडौँ उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको छ । उपत्यकामा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या बढेसँगै नेपाली सेनाले काठमाडौँको पशुपतिस्थित बाग्मती नदि किनारामा कोरोना संक्रमणबाट मुत्यु शवको व्यवस्थापन गर्न थालेको छ ।
वाग्मती किनारमा शवदाह वाग्मती किनारमा शवदाह वाग्मती किनारमा शवदाह वाग्मती किनारमा शवदाह वाग्मती किनारमा शवदाह
तस्बिर : रोशन सापकोटा, चन्द्रकला क्षेत्री (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !