२२ भाद्र २०८१, शनिबार

आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने तयारी


निर्वाचन आयोग

काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी साउन दोस्रो साता निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोग एक आयुक्तका अनुसार सरकारले सोहीअनुसार तयारी गर्न आयोगलाई निर्देशन दिइसकेको छ । ‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा एकै दिन गर्नेगरी तयारी गर्न आयोगलाई अनौपचारिक निर्देशन आइसकेको छ, हामी अब तात्दै छौं,’ एक आयुक्तले भने ।

सरकारका एक मन्त्रीका अनुसार आगामी साताको सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्न सक्ने सम्भावना छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीको सल्लाह अनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश आयोगलाई पठाइसकेका छन् ।

आयोगले भने यसअघि नै गत २२ असारमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन एकै चरणमा गर्नेगरी सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको छ ।

आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो ।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

आयोगले निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै सोहीअनुसारको समय माग गर्दै आएको छ । प्रधानमन्त्रीलाई सो विषयमा आयोगले ध्यानाकर्षणसमेत गराइसकेको छ ।

आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ । २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी जम्मा ७ अर्ब ८० करोड खर्च भएको थियो ।

आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम गरिरहेको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता जारी छ ।

यसैगरी, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकालाई समेत आयोगले सोही जिल्लाको निर्वाचन कार्यालयबाट नाम दर्ता गर्नेगरी सुविधा दिएको छ । त्यस्तै, काठमाडौं उपत्यकासहितका केही जिल्लामा अनलाइन प्रणालीमार्फत पनि नाम दर्ता गर्न सकिने व्यवस्था आयोगले मिलाएको छ ।

आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ । मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

यसैगरी, पहिले दर्ता कायम भएका तर नामावलीमा त्रुटि भएकाले स्थायी ठेगाना भएका जिल्ला निर्वाचन कार्यालय गएर सच्याउन सक्नेछन् । यसका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालय नै जानुपर्नेछ । अथवा, आयोगले इमेलमार्फत पनि त्रुटि सच्याउन सकिने व्यवस्था गरेको छ ।

अर्यालका अनुसार माग भएका आवश्यक कागजात पेस गरेर सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा अनलाइन प्रणालीमार्फत निवेदन दिएर नामावली सच्याउन सकिनेगरी व्यवस्था गरिएको छ ।

नामावली दर्ता रोकिएपछि नयाँ दर्ता भएका नामउपर छानबिन गर्नेसहितका कार्यक्रम तय गरिनेछ । आयोगका अनुसार गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ ।

जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता छन् । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !