१२ जेष्ठ २०८१, शनिबार

प्रहरीचौकीको कन्तबिजोक : छानो चुहिने भाडाको घरमा बस्न बाध्य


गोकुलेश्वर प्रहरीचौकी

बैतडी । पाँच कोठाको प्रहरीचौकी । भाडाको घरको छानो पानी पर्नै हुन्न, तपतप चुहिन्छ । कुनै कोठा बस्न लायक छैनन् । जीर्ण शौचालय । नजिकमा धारासमेत छैन, पानीकै समस्या ।

यो दृश्य बैतडी गोकुलेश्वर प्रहरीचौकी हो । कार्यक्षेत्र ठूलो भएकाले यहाँ कम्तीमा १० जनशक्ति आवश्यक छ । प्रहरीचौकी इन्चार्ज प्रहरी नायब निरीक्षक नरेन्द्रसिंह धामी ‘चौकीघर झनै जीर्ण हुँदै गएको’ सुनाउँछन् ।

‘यहाँ गाडी वा मोटरसाइकल आउने बाटो छैन, पैदल आउने बाटोसमेत निकै साघुँरो छ,’ उनी भन्छन्, ‘भिरको बाटो छ, मदिरा सेवन गरी होहल्ला गर्ने वा आरोपित व्यक्तिलाई चौकीमा ल्याउनै समस्या छ ।’

चौकीमा थुनवा कक्ष नभएकाले सोधपुछका लागि कसैलाई राति राख्नुपरेमा पाटनस्थित इप्रकाको समन्वयमा छिमेकी दार्चुला शैल्यशिखर इप्रका पु-याउनुपर्ने बाध्यता छ ।

गोकुलेश्वर प्रहरीचौकी जाने जोखिमपूर्ण बाटोबाट गत वर्ष एक प्रहरी जवान चौलानी किनारमा खसेको स्थानीय व्यवसायी सुरेश श्रेष्ठ सम्झन्छन् । उनका अनुसार घाइते जवानको उपचारमा १२ लाख खर्च भइसकेको छ ।

‘गोकुलेश्वर प्रहरीचौकीका लागि घर निर्माण, खानेपानी र बाटो अति आवश्यक छ,’ श्रेष्ठ भन्छन्, ‘अरूलाई सुरक्षा दिने निकाय आफैं असुरक्षित भएर बस्न बाध्य छ ।’

गोकुलेश्वर प्रहरीचौकीको समस्या तत्काल समाधान पहल गरिने डिलाशैनी गाउँपालिका प्रवक्ता ज्ञयराज भट्ट प्रतिबद्धता जनाउँछन् । प्रहरीचौकी निर्माणका लागि जग्गा माग गरिसकेको बताउँदै उनले ‘जग्गा प्राप्त भएपछि पालिकाबाट सम्बोधन नभए माथिल्लो सरकार तथा गृह मन्त्रालयसँग पहल’का लागि आग्रह गरिने सुनाए ।

प्रहरीचौकीको समस्या समाधान गर्न स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयले पहल थाल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशी बताउँछन् ।

त्यसो त, गोकुलेश्वर सुगम ठाउँ हो । यहाँ प्रसिद्ध व्यापारिक केन्द्र, कृषि कलेज, सरकारी तथा बोर्डिङ स्कुल, बैंक तथा वित्तीय संस्था छन् । तर, यहीँ गोकुलेश्वर बजारस्थित महाकाली राजमार्गबाट सय मिटर दूरीमा रहेको प्रहरीचौकीको भौतिक संरचना भने निकै नाजुक छ । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !