८ जेष्ठ २०८१, मंगलबार

माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी


माधवकुमार नेपाल

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेल’bout छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए । सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफलमा जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएका थिए ।

‘एक महानगरपालिकामा एकीकृत समाजवादीले मेयर नपाए चुनावी तालमेलको छलफलमा सहभागी नहुने जानकारी अध्यक्ष कमरेड (माधव नेपाल)लाई उहाँ (भुसाल र पौडेल)ले गराउनुभयो,’ सचिवालय बैठकमा सहभागी एक सदस्यले भने, ‘त्यसपछि अध्यक्ष कमरेडले पनि एक महानगरमा नेतृत्व नपाए अब छलफलको कुनै आवश्यकता नभएको बताउनुभयो ।’

एकीकृत समाजवादीलाई सम्मानजनक सिट नदिने संकेत पाएका अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई चेतावनी दिएका थिए । अध्यक्ष नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको समेत गुनासो गर्दै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !