२१ बैशाख २०८१, शुक्रबार

केन्द्रमा तालमेल, जिल्लामा बेमेल


सत्ता गठबन्धन बैठक

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् ।

पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा केन्द्रको महानगरदेखि गाउँपालिकासम्म नै तालमेलको पक्षमा उभिने निर्णय गरिसकेको छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि तालमेलका लागि साना दलसँग सहकार्य गर्दै अघि बढेको छ । एमालेले बुधबार मात्रै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेको हो । सहमतीअनुसार राप्रपाका उम्मेदवार आउँदो स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिने भएका हुन् ।

यसैगरी, एमाले र परिवार दलबीच पनि चुनावी तालमेलको सहमति भइसकेको दाबी गरिएको छ । सत्तामा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच भएको चुनावी तालमेलको सहमतिमा भने तल्ला तहमा असन्तुष्टि बढेको छ । यी सत्तारूढ दलले गरेको तालमेलको निर्णयका विषयमा जिल्लामा रहेका पार्टी संयन्त्रले फरक मत राख्दै आइरहेका छन् ।

कांग्रेस चितवन र कांग्रेस पर्साले केन्द्रीय तहबाट गरिएको गठबन्धनको निर्णय नमान्ने भन्दै विद्रोहको चेतावनी नै दिइसकेका छन् । भरतपुर महानगरपालिकाका कांग्रेसका वडा अध्यक्षहरूले यसपटक कुनै हालतमा तालमेलको निर्णय नमान्ने भन्दै विज्ञप्ति नै जारी गरिसकेका छन् ।

यसैगरी पर्सा कांग्रेसले जिल्लाका १४ वटै पालिकामा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति जनार्दनसिंह क्षत्रीले जानकारी दिए । सत्ता गठबन्धनमा रहेका दलका केन्द्रले भने केन्द्रदेखि प्रदेश र जिल्ला तथा पालिका तहमा संयन्त्र बनाएर तालमेलको मोडालिटी तय गर्न मातहतका निकायलाई निर्देशन नै गरिसकेका छन् ।  यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !