२१ बैशाख २०८१, शुक्रबार

बढ्यो अनलाइन ठगी, जोगिन के गर्ने ?


अनलाइन ठगी

काठमाडौं । प्रविधिको विकास र बढ्दो सुविधासँगै अनलाइन माध्यमबाट हुने ठगीका घटना बढ्न थालेको छ । नेपाल प्रहरीमा पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म महाशाखामा अनलाइन माध्यममार्फत ठगिएको भन्दै ३ सय १५ जनाको उजुरी परेको छ ।

महाशाखाका अनुसार पीडितले सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगिएको, सामान पार्सलमा ठगीमा परेको, मोबाइल खरिद बिक्रीमा ठगिएको, फेसबुक आइडी ह्याक गरी ठगीमा परेको, ई–सेवा/ओटीपी कोडबाट ठगीमा परेको तथा अन्य माध्यममार्फत ठगीमा परेको भन्दै महाशाखामा उजुरी गरेका हुन् ।

गत आर्थिक वर्ष २०७७/७८ मा भने एक वर्षको अवधिमा अनलाइन माध्यममार्फत ठगिएको भन्दै महाशाखामा २ सय ४४ जनाले उजुरी गरेका थिए । चालू आर्थिक वर्षको आठ महिनामा नै सो संख्या नाघिसकेको छ ।

महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले अनलाइन माध्यमको बढ्दो प्रयोगसँगै सुरक्षा सतर्कतामा ध्यान कम हुँदा ठगीका घटना बढ्दै गएको बताए ।

यसैगरी, फेसबुक आईडी ह्याक गरी ठगीमा परेको भन्दै ३८ जनाको उजुरी परेको छ । महाशाखाका प्रमुख कुँवर यसरी हुने ठगी कम गर्न पहिले सामाजिक सञ्जालको प्रयोगमा सम्बन्धित व्यक्ति आफैं सचेत हुनुपर्ने बताउँछन् । यस्तै, व्यक्तिले रकम जम्मा गरेका बैंकहरूलेसमेत सम्बन्धित व्यक्तिलाई जानकारी गराएर मात्रै कारोबारलाई पूर्णता दिनुपर्ने बताउँछन् ।

‘अनलाइनमार्फत हुने ठगी न्यूनीकरण गर्न सामाजिक सञ्जालको प्रयोगमासमेत व्यक्ति स्वयं चनाखो हुनुपर्ने आवश्यकता छ, व्यक्तिले पैसा राखेका बैंकलेसमेत सम्बन्धित व्यक्तिलाई जानकारी दिने वा गराउने प्रणाली राख्दा अनलाइन ठगी न्यूनीकरण गदै जान सकिन्छ,’ महाशाखाका प्रमुख कुँवरले अघि भने ।यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !