१३ जेष्ठ २०८१, आइतबार

देउवा र निधि आमने-सामने : निधिको उम्मेदवारीलाई साच्चै कि ‘घुर्की’ र ‘बार्गेनिङ’ ?


देउवा र निधि आमने-सामने

काठमाडौँ । ‘मैले बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय खोलेको छु, उद्घाटनका लागि आइदिन पर्‍यो,’ केही दिनअघि उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै यसो भन्दा उनको जवाफ थियो, ‘मेरो पनि समर्थन छ भनेर देखाउन बोलाएको होला, म आउँदिनँ ।’

देउवा नगए पनि निधि पछि हटेनन् । उनले विभिन्न शक्तिपीठका पुजारीबाट साइत गराएर शुक्रबार कार्यकर्ताबीच आफ्नो सम्पर्क कार्यालय खोले । त्यही समारोहमा उनले सभापतिमा उम्मेदवारीको घोषणा पनि गरे । भित्रभित्रै सभापतिका लागि तयारी गर्ने नेता अरू थुप्रै छन् तर खचाखच कार्यकर्ताको भीडमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो नेता भएका छन् ।

देउवानिकट कतिपय नेताले निधिको उम्मेदवारीको विषयलाई ‘घुर्की’ र ‘बार्गेनिङ’ को रूपमा अर्थ्याउँदै आएका थिए । महाधिवेशनको मुखतिर दुई नेता मिल्ने विश्वास पनि थियो । ‘लामो संगत र सहकार्यको धागो यति चाँडै तोडिएलाजस्तो लागेको थिएन, केही न केही समझदारी बन्ला भन्ने हामीले सोचेका थियौं,’ देउवानिकट एक नेताले भने, ‘आजदेखि भने देउवा र निधिको बाटो अलग्गिएको महसुस भएको छ ।’

नेविसंघमा देउवाको उत्तराधिकारी निधि थिए । २०३६ मा बीपी कोइरालाको प्रस्तावमा निधि नेविसंघका अध्यक्ष भए । त्यसअघिको कार्यकालमा देउवा अध्यक्ष थिए । ४२ वर्षपछि निधिले पार्टीमा पनि त्यस्तै उत्तराधिकारीको चाहना राख्दै आएका थिए । १३ औं महाधिवेशनकै बेला यसपटक तपाईंलाई जिताउने हो, अर्कोपटक मलाई सघाउनुपर्छ है भन्दा देउवाले ‘हुन्छ’ भनेको निधि यतिबेला स्मरण गर्छन् । ‘म तपाईंको उत्तराधिकारी बन्न चाहन्छु, तपाईंको समर्थनमा सभापतिको उम्मेदवार बन्न चाहन्छु भनेर धेरैपटक भनें,’ केही दिनअघि कान्तिपुरसँगको कुराकानीमा निधिले भनेका थिए, ‘तर उहाँले तपाईंलार्ई पनि लड्ने अधिकार छ, लड्नुहोस्, म पनि लड्छु भन्नुभयो ।’

यसबीचमा उनले पटक–पटक उत्तराधिकारी बन्न चाहेको बताउन छाडेनन् । झन्डै एक वर्षदेखि चलेको यी दुई नेताबीचको उम्मेदवारी रस्साकसीले शुक्रबारबाट भने अलग बाटो तय गरेको छ । उता देउवा पनि आफ्नो तयारीमा छन् । निधिले पनि सार्वजनिक रूपमै उम्मेदवारी घोषणा गरेर तयारी अघि बढाएका छन् । एउटै वैचारिक लाइन र सहकार्यमा जोडिएको २५ वर्षमा देउवा र निधिको यात्रा अब अलग बनेको छ ।

विद्यार्थीकालबाटै चिनजान र सहकार्य भए पनि देउवा र निधिको पार्टीभित्र फरक ‘स्कुलिङ’ थियो । २०५२ सालसम्म देउवा कोइराला परिवारको ‘स्कुलिङ’ मा थिए । संस्थापक नेता महेन्द्रनारायण निधिको प्रभाव र छत्रछायामा राजनीतिक यात्रा अघि बढाएका निधि बीपीपछि कृष्णप्रसाद भट्टराईको ‘स्कुलिङ’ मा हुर्किए । गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको झगडामा देउवा कोइरालाको र निधि भट्टराईको पक्षमा भिड्थे ।

०५२ भदौ २७ मा देउवा पहिलोपल्ट प्रधानमन्त्री बने । त्यसपछि गिरिजाप्रसादसँग उनको खटपट बढ्यो । प्रधानमन्त्री बनेपछि देउवा पार्टीभित्रको वैकल्पिक शक्तिमा उदाउँदै थिए, जुन कुरा गिरिजाप्रसादलाई मन परेको थिएन । दुई नेताबीच फाटो बढ्दै जान थाल्यो । देउवा प्रधानमन्त्री जोगाउन भट्टराईसँग जोडिए । त्यसपछि नै निधिसँग उनको सहकार्य बढ्यो । देउवाले आफ्नो मन्त्रिपरिषद्मा निधिलाई पहिलोपल्ट सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिएका थिए ।

०५९ मा पार्टी विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा पनि निधिले देउवाको साथ छाडेनन् । विभाजनपछि भएको ११ औं महाधिवेशनमा कांग्रेस प्रजातान्त्रिकबाट निधि महामन्त्री भए । १३ औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि देउवाले निधिलाई उपसभापति बनाए ।

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गृहमन्त्री छँदा देउवासँग आईजी प्रकरणमा केही मनमुटाव भएको थियो । निधि नवराज सिलवाललाई आईजी बनाउन चाहन्थे, देउवा जयबहादुर चन्दलाई । यही द्वन्द्वले निधिले गृहमन्त्रीबाट राजीनामा दिए तर देउवानिकट नेताहरूले मनमुटावलाई सल्टाए ।

निधि देउवाका बलियो पिलर थिए । तराई–मधेसमा उनको प्रभाव राम्रो छ । खासगरी प्रदेश २ को पार्टी राजनीतिमा उनले भनेअनुसार हुँदै आएको थियो । निधि आफूबाट अलग हुँदा सबैभन्दा ठूलो चोट देउवालाई लागेको छ । पुस्तान्तरणको मुद्दा बोकर हिँडेका युवा नेतालाई भने निधिको उम्मेदवारीले उत्साही बनाएको छ ।

निधि पनि पुस्तान्तरको पक्षमा छन् । देउवा, पौडेल र सिटौला सहभागी बैठकमै आफूले पार्टीको नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेको निधिले बताए । सभापतिका प्रत्यासी रहेका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको बैठकमा पनि १३ औं महाधिवेशनका उम्मेदवारले पार्टीमा अभिभावक बनेर बस्नुपर्ने साझा दृष्टिकोण बनेको उनले सुनाए । १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच नेतृत्वको प्रतिस्पर्धा भएको थियो ।

धार्मिक रीतपूर्वक सम्पर्क कार्यालय खोलेका निधिले अब पार्टी सभापतिको प्रचारप्रसारलगायत गतिविधि बानेश्वरबाट हुने बताएका छन् । उनले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत मन्दिरका पुजारी तथा पण्डितलाई बोलाएर, पूजाआजा गर्न लगाएर सम्पर्क कार्यालय उद्घाटन गराएका थिए ।

कांग्रेसमा सभापतिका प्रत्याशी मात्रै करिब दस जना पुगेका छन् । देउवा आफैं सभापतिका उम्मेदवार हुन् । उनले अनौपचारिक छलफलहरूमा अब एक कार्यकाल सभापति हुन चाहेको बताउँदै आएका छन् तर सार्वजनिक रूपमा घोषणा गरेका छैनन् ।

संस्थापनबाट संगठन विभागका प्रमुखसमेत रहेका गोपालमान श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् । संस्थापनबाहेक पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सिटौला, नेता शेखर कोइराला र युवा नेता कल्याण गुरुङसम्मले उम्मेदवारीको तयारी अघि बढाएका छन् ।

पौडेलले अनामनगर, सिटौलाले बत्तिसपुतली, महामन्त्री कोइरालाले महाराजगन्जस्थित आफ्नै निवास, शेखरले अनामनगर र बालुवाटारको सम्पर्क कार्यालयबाट गतिविधि अघि बढाएका छन् । ‘नेताहरूले नेतृत्वका लागि अघि बढेको दृश्यले अब महाधिवेशन नरोकिने अवस्थामा पुगिसकेको छ,’ केन्द्रीय सदस्य पौडेलले भने ।

पार्टी नेतृत्वले पनि तोकिएकै कार्यतालिकामा महाधिवेशन गराउन चाहेको देखिन्छ । क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग राखेर संस्थापनबाहेकका जिल्ला सभापतिहरू केन्द्रीय कार्यालयमा अनशन बसिरहेका छन् तर निर्वाचन समितिले शुक्रबारै ३८ जिल्लामा निर्वाचन गराउने टोली खटाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !