२१ बैशाख २०८१, शुक्रबार

माधव नेपालको साथ छाड्ने भीम आचार्य मुख्यमन्त्रीवाट पुरस्कृत


भीम आचार्य

काठमाडौं । एमाले सचिव एवं प्रदेश १ का संयोजक भीमप्रसाद आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेका छन् । तत्कालीन नेकपामा विभाजन आएपछि त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेर मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि बिहीबार नै आचार्य एमाले प्रदेश संसदीय दलको नेता चयन भएका थिए। आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउन मुख्यमन्त्री शेरधन राईले मार्गप्रशस्त गरेका हुन्। राईले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्यलागि ढोका खुलेको हो। राईको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ मुख्यमन्त्रीका रूपमा आचार्यलाई पद तथा गोपनीयताकोे शपथ गराएका थिए।

शपथलगत्तै कार्यभार सम्हाल्ने क्रममा आचार्यले सुशासन, विकास र कोरोना महामारी नियन्त्रण सरकारको प्राथमिकतामा पर्ने बताएका छन्। आचार्यले सीमित साधनस्रोत, निश्चित कार्यक्षमता र सम्पूर्ण रूपमा तयार भइनसकेको प्रदेश संरचना रहेकाले सरकारका अगाडि समस्याका चाङ रहेको बताए। ‘प्रदेश संरचना अझै परिपक्व भइनसकेका कारण सरकारसामु संघीयता कार्यान्वयनलगायत थुप्रैखाले चुनौती छन्,’ उनले भने। आचार्यले सरकार चुनौतीको सहज रूपमा सामना गर्न सक्षम रहेको दाबी पनि गरे।

निवर्तमान मुख्यमन्त्री राईले मुलुक संघीयतामा गएर प्रदेश सरकार बनेको तीन वर्ष बितिसके पनि प्रदेशले अझै अधिकार नपाएको गुनासो गरे। राईले अझैसम्म प्रदेशमा प्रहरी समायोजन नगरिएको, प्रदेशको आफ्नै कर्मचारी संयन्त्र नभएको बताए। उनले संविधानले प्रदान गरेको अधिकारसमेत प्रदेशले उपयोग गर्न नपाएको जनाए। उनले आफ्नो शासनकालमा संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण काम भएको दाबी गरे। राईले प्रदेश १ को राजधानी टुंगो लगाइए पनि नामकरण बाँकी नै रहेको बताए।

नयाँ सरकारबाट बृहत् सहमतिका आधारमा प्रदेश नामकरण हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो। एमालेको विभाजनले औपचारिकता पाएसँगै मुख्यमन्त्री बनेका आचार्यलाई एमाले विवादमा माधवकुमार नेपालको पक्षमा खुलेका आठ सांसदले साथ दिएका छन्। यसअघि नेपाल समूहमा आचार्यसहित १८ सांसद रहेकोमा आचार्यलाई दलको नेता बनाउन बिहीबार बसेको संसदीय दलको बैठकमा नेपाल समूहका आठ सांसद सहभागी भए। यो समाचार नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !